महिलाहरुले नेतृत्व गरेको सहकारीको महत्व र पहिचान आफैमा महत्वपूर्ण छ : सांसद पन्थी

मेचीकाली संवाददाता

२१ पुष २०७८, बुधबार
755 shares

पार्वती आचार्य
कपिलवस्तु । महिलाहरुले स्थापना गरेर नेतृत्व गरी महिलाहरुलाई संगठित गरेको सहकारी भएको हुनाले यसको महत्व र पहिचान आफैंमा महत्वपूर्ण भएको कार्यक्रमका प्रदेश सांसद बिष्णु पन्थीले बताएका छन् । यस सहकारीले दुई दशक सम्म आई पुग्दा सहकारी मार्फत थुप्रै महिला दिदी बहिनीलाई क्षमतावान बनाउन सफल भएको भन्दै शुभकामना दिए । सहकारी अर्थ व्यवस्थाको तिन वटा आधारहरु मध्येको एक महत्वपूर्ण आधार भएको हुँदा सरकारी निजी र सहकारी अर्थ व्यवस्थाको आधार मध्ये सहकारी एउटा महत्वपूर्ण आधार हो भने अर्को तर्फ महिलाहरुले संचालन गरेको सहकारीको आफैंमा महत्वपूर्ण रहेको बताएका हुन् ।

गत बर्ष सहकारीले असल बुहारीलाई सम्मान गर्नु र यस बर्ष असल सासुलाई छनोट गरेर सम्मान गर्नु आफैंमा गौरवशाली छ यस्ता खाल्का कार्यहरुले समाज रुपान्तरण हुने भन्दै प्रशंसा गरे । सासु बुहारीको सम्बन्ध सकारात्मक भए घर देखि समाज परिवर्तन हुने भएको हुँदा यसमा यस सहकारीको अहमं भूमिका रहेको बताए । महिलाहरु जती जागरुक र चेतनशील हुन्छन् त्यती नै समाज व्यवस्थित हुने छन् र समाज निर्माणमा महिलाहरुको धेरै भूमिका रहने बताए । अबको दश बर्षमा छोरीहरु आर्थिक रुपमा धेरै आत्म निर्भर बन्ने छन् उद्यमशील बनेर होस या स्वरोजगारमा संलग्न भएर वा बिभिन्न संघ संसथामा आवद्ध भएर महिलाहरुको अवस्था धेरै अगाडी बढ्ने सांसद पन्थीले बिश्वास ब्यक्त गरे । यस्तै सांसद पन्थीले सहकारीको भौतिक निर्माणलाई सहयोगका लागि प्रदेशबाट पहलगर्ने र सहकारीलाई अझै अगाडी बढाउनका लागि बिभिन्न सिप बिकास तालिम र क्षमता अभिबृद्धिका तालिमहरुका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथी सहकारी संघका लुम्बिनी प्रदेश लेखा समिती संयोजक तेज प्रसाद आचार्यले सहकारीलाई अझै बलियो बनाउन समूहलाई बृद्धि गर्न आवश्यक भएको बताए । आचार्यले आर्थिकलाई बढाउन सहकारी मार्फत उत्पादनमा बृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । सहकारीका पुराना पुस्तालाई अगाडी बढाउन नयाँ पुस्तालाई बृद्धि गर्नका लागि सहकारीका पदाधिकारीहरुलाई अगाडी बढ्न आग्रह गरे । सहकारी मार्फत उत्पादन भएका सामाग्रीहरुको प्रचार प्रसार गर्न आवश्यक देखिएको भन्दै सहकारीले दिएको सिपलाई सबैले सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रमका अतिथी एवं वडा न. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बिसौ साधारण सभाको शुभकामना दिंदै महिला दिदी बहिनीहरुको हक हितको लागि सधै पैरवी गर्दै आएको बताए । यस सहकारीलाई देशमा चिनाउन सहकारीका सम्पुर्ण पदाधिकारीहरु एकजुट भएर लाग्न जरुरी देखिएको बताए । सहकारीलाई आर्थिक रुपमा बृद्धि गर्न उत्पादन मूलक रुपमा लगानी लगाउन सकियो भने मात्र सहकारीले सफलता प्राप्त गर्ने बताए । अध्यक्ष क्षेत्रीले उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको व्यवस्थापनमा वडाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु लाई व्यबस्थापन गर्न कोशेली घर निर्माणका लागि सहकारी संस्थाले कार्य अगाडी बढाएमा वडाको पूर्ण साथ रहने बताए ।

यसैगरी साधारण सभामा सहकारीका पुर्व अध्यक्ष ईन्दीरा पन्त सल्लाहकार चेतना अधिकारी, सरिता देवी ढकाल, ठाकुरापुर टोल बिकास संस्थाका अध्यक्ष हरी पौडेल र संचारिक समूह जिल्ला शाखा अध्यक्ष पार्वती आचार्य लगाएतले बोल्दै सहकारीले महिलाको आर्थिक शसक्तिकरणको क्षेत्रमा काम गर्दै आएको बताए । जब सम्म आर्थिक सशक्तिकरण हुँदैन तव सम्म समाज परिवर्तन नहुने भएको हुँदा महिलाहरुले उद्यमशीलतालाई अगाडी बढाउनुपर्नेमा जोड दिए । बिभिन्न सिप मुलक कार्यहरुको सम्पादन गर्दै आएको संस्थाले आर्थिक क्षेत्रलाई अगाडी बढाउन सके सहकारीको स्तर बृद्धि हुने बताए ।

कार्यक्रममा संथाका सचिव सुनिता सेनले प्रगती प्रतिवेदन प्रस्तुत , कोषध्यक्ष नमुना पौडेलले आयव्य विवरण प्रस्तुत र व्यबस्थापक बिद्या शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । व्यवस्थापक शर्माले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै एक सय रुपैंया बाट शुरु गरेको सहकारीको आम्दानी रु. १ करोड ३० लाख रुपैंया पुग्न सफल भएको बताईन् । १ सय १ जनाको शेयर सदस्य बाट शुरु गरेको संस्थामा अहिले ७ सय ८६ शेयर सदस्यहरु आबद्ध रहेको जानकारी दिईन् ।

सहयोगी महिला बहुउद्देशीय सहकारी संस्था बाणगंगा ४ ठाकुरापुरको आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका पुर्व अध्यक्ष, शेयर धनीहरु, संस्थाका सल्लाहकारहरु, लेखा समितीका पदाधिकारीहरु, हिंसा न्यूनिकरणका लागि वकालत गर्ने निगरानी समूहका पदाधिकारीहरु र संचारकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष नूमि शर्माको अध्यक्षता, प्रदेश सांसद बिष्णु पन्थीको प्रमुख आतिथ्यता, लेखा समिती संयोजक बिनीता आचार्यको स्वागत तथा सचिव सुनिता सेनको संचालनमा सम्पन्न भएको थियो । भने, संस्थाले असल सासु, असल ऋणी, असल उद्यमी र अनुसासित समितीलाई सम्मान गरेको थियो ।