रुपन्देही व्यापार संघको ११औँ अधिवशेन तथा २०औँ साधारणसभा

व्यवसायीमैत्री नीतिको अभाव

मेचीकाली संवाददाता

२२ पुष २०७८, बिहीबार
381 shares

बुटवल । नेकपा एमालेका सविव तथा प्रतिनिसधिसभा सदस्य छविलाल विश्वकर्माले हरेक हिसाबले रुपन्देही राजधानी भएकाले यसको विकासमा सबैको साथ, सहयोग चाहिने बताएका छन् । रुपन्देही व्यापार संघको ११ औं अधिवेशन तथा २० औँ साधारण सभामा बोल्दै हरेक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।

उनले व्यवसायिक हितमा व्यवसायीका बीच एकता आवश्यक रहेको बताउँदै व्यवसाय चलाउँदा उपभोक्ताको हितमा ख्याल राख्न उद्योगी व्यवसायीलाई आग्रह गरे । गुणस्तरमा कमी ल्याएर उपभोक्तालाई मारमा नपार्न आग्रह गर्दै हरेक क्षेत्रले उपभोक्ताको हितमा ध्यान दिनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विकासको हिसाबले केन्द्र भागमा रहेको बुटवलको विकासमा सबैको चासो बढ्नु पर्ने बताए । कार्यक्रममा डाक्टर नन्दु पाठक, संघका पूर्व अध्यक्षहरु मोति पाण्डे, मोतिराज ज्ञवाली, टंकप्रसाद पोखरेल, बुटवल उद्योग वाणिज्य संघका उज्ज्वल कसजू, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का दधिराम खरेल नेपाली काँग्रेस रुपन्देही जिल्ला सदस्य हरिप्रसाद अर्याललगायतले बोल्दै कोभिडका कारणले व्यापार व्यवसायीहरुमा परेको समस्याप्रति सरकार बेखबर जस्तै बनेको गुनासो गरेका थिए ।

उनीहरुले नीतिगत रुपमा उद्योगी, व्यापारीहरुलाई राज्यले प्रत्याभूति हुने गरी काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । प्रदेश सरकार बुटवलका राख्नको लागि व्यवसायीहरुले ठुलो मद्दत गरेको विषय सरकारले भुलेको बताएका थिए ।संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरेको स्वागत र दया भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

आचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार
रुपन्देही व्यापार संघले २० औं वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघले यस वर्ष पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरेको छ । सम्पादकीय टिममा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका आचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ बाट सो अवसरमा पुरस्कृत गरिएको हो ।

पत्रकार आचार्यलाई २५ हजार नगद राशीको पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । आचार्यले बुटवलमा विगत १६ वर्षदेखि पत्रकारिता क्रियाशील रहेका छन् । यस्तै चिकित्सा, पर्यटन र समाज सेवामा विशिष्ट योगदान पुराएको भन्दै चार जनालाई सम्मान गरिएको छ । संघले लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन फिजिसियन डा. नन्दु पाठक, पर्यटन व्यवसायी माधव नेपाल र सामाजिक व्यक्तित्व खेमराज पुनलाई सम्मान गरिएको छ ।