बुटवलमा युवालाई सीप र उद्यम व्यवसायका लागि निःशुल्क औजार

मेचीकाली संवाददाता

२२ पुष २०७८, बिहीबार
525 shares

बुटवल । बुटवल उपमहानगरले सञ्चालन गरेका मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशिलता विकास प्रबर्द्धन कार्यक्रम मुलुककै नमुना कार्यक्रम हुन् । यिनै कार्यक्रम अन्तर्गत निःशुल्क सीप सिकेकालाई आज प्रमाणपत्र तथा उद्यम-व्यवसाय सञ्चालन गर्न आवश्यक उपकरण औजार समेत निशुल्क प्रदान गरिएको छ ।

आजैदेखि एसी र फ्रिज बनाउने छोटो अवधिको तालिम सुरु भएको छ । बुटवल उपमहानगरले सञ्चालन गरेकाविभिन्न सीपमूलक तालिम लिएका करिब तीन हजार मध्ये अधिकांशले सीपलाई व्यवसाय र उद्यममा परिणत गरेका छन्, रोजगारी सिर्जना र नौलो किसिमले व्यवसाय सञ्चालन गरिरहेका छन् । नर्सरी सञ्चालन, कौसी तरकारी खेती, जैविक मल उत्पादन, ढाका बुनाइ, कफीका परिकार, हातेबुनाइका सामग्री उत्पादन, बुटिक तथा पार्लर सञ्चालन, हेयर कटिङ तथा फेशन डिजाइनिङ, डेरि तथा दुग्धशाला सञ्चालन, फास्टफूड सञ्चालन देखि हेवी इक्वीपमेण्ट मर्मत र सञ्चालन गर्नेलगायतका करीब छोटो र लामो अवधिका ३० प्रकारका सीपमूलक तालिम सञ्चालनमा छन् ।

यस कार्यक्रम अन्तर्गत आधारभूत र विशिष्ट गरि दुबै प्रकारका तालिम सञ्चालन गरिएको छ । बुटवल उपमहानगरले बीटीआई र यूएनडीपीको सहकार्यमा नयाँ व्यवसाय तथा उद्यम सञ्चालन गर्न सीप सिकेकालाई आवश्यक औजार समेत प्रदान गर्दै आएको छ । बिहीबार मात्रै करिब आठ लाख रुपैयाँ बराबरका औजार प्रदान गरिएको छ ।

उपप्रमुख गुमादेवी आचार्य, यूएनडीपीका लुम्बिनी-गण्डकी प्रदेश प्रमुख सुदीप अर्याल, उपमहानगरका आर्थिक महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल, बीटीआइका बिजनेस तथा प्रशासन प्रमुख चन्द्रबहादुर क्षेत्री, उपमहानगरका उद्योग, पर्यटन तथा बाणिज्य शाखाका ठगिश्वर पोखरेल, बीटीआइका इन्जिनियर मनोजरत्न भुसाललगायतले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो । उपप्रमुख आचार्यले बिहीबार नै एसी र फ्रिज मर्मत तालिमको शुभारम्भ गर्नुभएको छ ।