आज देशैभर एकसाथ एमालेका जिल्ला अधिवेशन

अध्यक्ष ओलीले भर्चुअलबाट एकैपटक उद्घाटन गर्ने

मेचीकाली संवाददाता

२३ पुष २०७८, शुक्रबार
560 shares

– जिल्ला कमिटीका तीनबुँदे मापदण्ड तय
– सर्वसम्मत नेतृत्व छान्ने तयारी

बुटवल । नेकपा एमालले आज देशैभर एकैसाथ जिल्ला अधिवेशनहरू गर्दैछ । एमालेले पहिलो पटक विधान महाधिवेशन सम्पन्न गर्दै त्यसयता सबै पालिकामा एक साथ अधिवेशन, चितवनमा सानदार र ऐतिहासिक जनप्रदर्शनसहितको दशौं महाधिवेशन सम्पन्न गरेको छ भने आज सबै जिल्लामा एक साथ जिल्ला अधिवेशन हुँदैछ ।

आजदेखि सुरु हुने जिल्ला अधिवेशनबाट एमालेका हरेक जिल्लाहरूमा नयाँ नेतृत्व चयन हुनेछन् । रुपन्देहीको नवौं अधिवेशन भैरहवास्थित गणतान्त्रिक सभाहलमा हुँदैछ । अधिवेशनका लागि सबै तयारी पूरा भएको एमाले रुपन्देहीका वर्तमान अध्यक्ष तथा पार्टीका केन्द्रीय कमिटी सदस्य शिवराज सुवेदीले जानकारी दिए । आज हुने पार्टीका जिल्ला अधिवेशनहरुको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एक साथ उद्घाटन गर्नेगरी तयारी भइरहेको छ । रुपन्देहीको नवौं अधिवेशन भैरहवास्थित गणतान्त्रिक हलमा बिहान ११ बजे उद्घाटन गर्ने तयारी छ ।

एक हजार एक सय छ जना प्रतिनिधि
रुपन्देहीको नवौं अधिवेशनका लागि जिल्लाका सबै पालिकाबाट गरी एक हजार एक सय छ जना प्रतिनिधि चयन भएको प्रचार विभाग प्रमुख मोहन चापागाइँले जानकारी दिए । रुपन्देहीका १६ वटै पालिका र त्यहाँका वडा सम्मै एमालेका शाखा कमिटी क्रियाशील छन् । ती सबै शाखा कमिटी र पालिकामा एब साथ अधिवेशन भएको छ भने नेतृत्व समेत सर्वसम्मत छानिएको छ । आजदेखि हुने जिल्ला कमिटीको नवौं अधिवेशनमा प्रतिनिधिसहित अतिथि, विभागका सदस्यहरु र पर्यवेक्षक समेत सहभागी हुने प्रचार विभाग प्रमुख चापागाइँले बताए । मताधिकारको अधिकार भने प्रतिनिधिलाई मात्रै रहेने उनको भनाइ छ । पार्टीको जिल्ला कमिटी नेतृत्वका लागि सर्वसम्मत बनाउने तयारी छ । आकांक्षीको व्यवस्थापन गर्ने र छलफल चलाउने काम भइरहेको र सर्वसम्मत नेतृत्व चयन गराउने कसरतमा लागेको नेताहरुले बताएका छन् ।

जिल्ला कमिटीका तीनबुँदे मापदण्ड
एमाले संगठन विभागले आजदेखि सुरु हुने अधिवेशनलाई मध्यनजर गर्दै जिल्ला कमिटीसम्बन्धी तीनबुँदे मापदण्ड तय गरी ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ । विभागले जिल्ला कमिटीको पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भई काम गरेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ मापदण्ड बनाएको छ । पार्टीमा नेतृत्वमा जान चाहने कार्यकर्ताको संख्या अधिक भएको र कार्यकर्ताको आकर्षण पनि बढिरहेका बेला एमालेले यस्तो मापदण्ड बनाएको हो ।

त्यसैगरी, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै, एकता तथा एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ को (११) अनुसारको हुनेछ बताइएको छ ।

रुपन्देहीको कम्युनिष्ट आन्दोलन
रुपन्देहीमा हाल एमालेका करिब २५ हजार पार्टीका संगठित सदस्य रहेका छन् भने नयाँ आवेदन भरेकाको संख्या पनि उत्तिकै रहेको छ । रूपन्देहीमा पहिलोपटक २००९ सालमा कम्युनिष्ट पार्टीको संगठन निर्माण भएको थियो । जिल्लाको पहिलो सचिव (नेता) पृथ्वी शेरचन थिए । २०७८ वैशाख ४ गते उनको निधन भयो । दोस्रो नेताका रुपमा पिबी मल्ल चयन भएका थिए । आम चुनाव २०१५ मा पार्टीले रामदयाल र पिबी मल्ललाई चुनावमा उठाएको थियो । त्यस चुनावमा राम्रो जनमत पाएका थियौं । लालसिं भण्डारी जिल्ला नेता थिए ।

राजाले २०१७ सालमा पार्टीमा प्रतिबन्ध लगाएपछि धेरै साथीहरु भूमिगत हुन पुग्यौं र एकप्रकारले पार्टी निर्माणको अभियान प्रभावित भयो र केही क्षण त छिन्न भिन्न हुने अवस्था पनि आयो । ज्यान जोगाउन कोही पञ्चायत पस्ने काम पनि भयो । त्यसबेला नेता लालसिं नवलपुर दाइको घर गएर उतै लुकेर बसे ।

२०१९ सालमा तेस्रो महाधिवेशनमा शक्ति लम्साल प्रतिनिधि भएर गएपनि उनले बीचैमा देवेन्द्र घिमिरेलाई पार्टीको जिम्मा दिएर काठमाण्डौ गए । नेतृत्व देवेन्द्र घिमिरेले लिएका थिए । २०२५ साउनमा पुष्पलाको नेतृत्वमा तेस्रो सम्मेलन भएको थियो । २०२५ सालदेखि यता रुपन्देहीमा पार्टी प्रमुखका रुपमा देवी पान्डे, ओमकुमार सुधाकर, मदनलाल पौडेल, वामदेव गौतम, प्रदीप नेपाल, डिबी सिंह, ईश्वर पोखरेल, भीमनारायण थारू, नेत्रप्रसाद पन्थी, घनश्याम भुसाल, विजय पौडेल, लिला गिरी, भोजप्रसाद श्रेष्ठ र शिवराज सुवेदीले पार्टीको नेतृत्व सम्हालेका थिए । विजय पौडेल सचिव भएको केही समयमै जिल्ला छाडेर अध्ययन गर्ने भन्दै काठमाण्डौ हिँडेका थिए । त्यसबेला सहसचिव रहेकाम लिला गिरीले कार्यबाहक सचिवका रुपमा पार्टी नेतृत्व सम्हालेका थिए ।

नेता गिरीलाई राजाको प्रत्यक्ष साशनकालमा धरपकड गर्ने, गिरफ्तार गरेर हिरासतमा लिएको थियो । रुपन्देहीका सदस्य हितराज पन्थीलाई पनि राजाको प्रत्यक्ष साशनका विरुद्ध अभियान चलाएको भन्दै हिरासतमा लिएको थियो । अरु नेताहरु भूमिगत भइसकेका थिए । त्यसबेला पार्टीको प्रमुखका रुपमा सचिव र सहसचिव रहने प्रावधान थियो अध्यक्षको प्रावधान थिएन । हाल शिवराज सुवेदी पार्टीको जिल्ला प्रमुखका रुपमा रहेका छन् भने हालैको महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्य तथा रुपन्देहीको सह–इन्चार्जमा निर्वाचित भएका छन् ।

एमाले र माओवादी एकता भएर नेकपा बनेका बेलामा दुवै पार्टीबाट नेतृत्वमा आएकाहरु पछि पार्टी एकता भंग भएपछि पूर्वमाओवादी आन्दोलनमा रहेका कैयन् नेता कार्यकर्ताहरु अहिले एमालेमै समाहित भएका छन् । संकटमा साथ दिएका, मूलधारमै रहेका र एकता प्रक्रियाबाट सहभागी भएका सबै कमरेडहरुलाई पार्टीले सम्मानका साथ महत्वपूर्ण स्थान दिनेछ र सबै मिलेर त्यो वातावरण निर्माणमा जुटेको पार्टीका नेताहरुको भनाइ छ ।

समृद्ध रुपन्देहीको संकल्प र साकार पार्ने अभियानको निरन्तरता
‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न फेरि पनि यो देशमा नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको अध्यक्ष सुवेदीको भनाइ छ । देश विकासको प्रष्ट खाका भएको, देश विकासमा समर्पित, समाजवादको आधार निर्माण गर्ने लक्ष्यमा केन्द्रित रहेको एमालेले चुनौतीको कसरी सामना गर्ने भन्ने पनि जानेको सुवेदीले बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहइन्चार्ज दधिराम न्यौपाने ‘एमएस’ले पार्टीका सामु रहेका चुनौतीलाई परास्त गर्दै इतिहासले सुम्पिएका राष्ट्रिय कार्यभारलाई पूरा गर्न नेकपा एमालेको सुदृढ एकता पहिलो र अनिवार्य शर्त रहेको बताए । उनले पार्टीको अधिवेशनले निर्माण गर्ने नेतृत्वले रुपन्देहीलाई विकासको रोलमोडल बनाउने एमालेको अभियानलाई निरन्तरता दिँदै सिङ्गो जिल्लालाई दिशानिर्देश गर्ने दाबी गरे ।

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने जुन मूल नाराका साथ हालै चितवनमा एतिहासिक सफलतापूर्वक सम्पन्न भएको पार्टीको दशौं महाधिवेशनले तय गरेको बाटोबाटै समृद्ध रुपन्देहीको संकल्प साकार पार्न सकिनेमा पार्टी दृढ रहेको एमालेका केन्द्रीय सदस्य तथा रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकालको भनाइ छ । जिल्लाको नेतृत्व सकभर सर्वसम्म चयन हुने र सर्वसम्मत हुन नसकेको खण्डमा सार्वभौम प्रतिनिधिहरुमार्फत लोकतान्त्रिक विधिबाट स्वच्छ तरिकाले नेतृत्व छानिने नेताहरुले बताएका छन् ।