राष्ट्रिय युवा संघद्वारा निःशुल्क स्वास्थ्य शिविर

मेचीकाली संवाददाता

२४ पुष २०७८, शनिबार
395 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ रुपन्देही शिशै माविको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउँपालिका–१ को आयोजनामा र यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा, शुद्धोधन गाउँपालिकाको कार्यालय मानपकडी रुपन्देही र शुद्धोधन इन्सेक परिवारको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन–१ का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता, शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको प्रमुख आतिथ्यता, राष्ट्रिय युवा संघ जिल्ला सदस्य हेमन्त थापा, रनेयोरा प्रहरी कार्यालय प्रमुख जीवन लामिछानेको विशिष्ट आतिथ्यता रहेको थियो । शिविरमा यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाका काअर्डिनेटर तेजकुमार केसीले कार्यक्रममाथि प्रकाश पार्दै शिविरमा आएका बिरामीहरूलाई रगतको परीक्षण गरिएका रिपोर्ट लिनका लागि यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाबाट बसको व्यवस्था गरिने बताए । बिरामीहरुलाई राम्रो चेकजाँच गरी थप उपचार शुल्कमा २० प्रतिशत छुट दिने केसीले बताए ।

शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले यस राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन–१ ले अति राम्रो काम गरेकोमा धन्यवाद दिँदै यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा र शुद्धोधन स्वास्थ्य शाखासुत सहकार्य गरी अगामी दिनहरूमा पनि पालिकास्तरीय निःशुल्क स्वास्थ्य शिविर गरिने बताए ।

यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाका डाक्टर तेजकुमार केसी, मदन थपलिया, सुदिप चौधरी, विवेक केसीलगायतका टोलीले स्वास्थ्य शिविरमा आएका बिरामीको चेकजाँच गरी निःशुल्क औषधी वितरण गरिएको र सो निःशुल्क स्वास्थ्य शिविरमा ४५५ जनाले स्वास्थ्य सेवा लिएको राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन–१ का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । मनोज गुप्ता, हेमन्त थापालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल शुद्धोेधन गाउँपालिका अध्यक्ष कृष्ण अर्यालको स्वागत र राष्ट्रिय युवा संघ नेपाल गाउँकमिटी सचिव विशाल रानाको सञ्चालनमा भएको थियो ।