नेपाल स्वयंसेवक संघको प्रथम साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२५ पुष २०७८, आईतवार
564 shares

सुनिल आचार्य
कपिलवस्तु । नेपाल स्वयंसेवक संघको प्रथम साधारण सभा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ बैरियामा सम्पन्न भएको छ । २०७६ सालमा स्थापना भएको संस्थाले ‘हत्या हिंसा र भष्ट्राचारीलाई गरौं खबरदारी राष्ट्र समृद्ध बनाउने हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ स्थापनाको छोटो समयमै मानवीय र सामाजिक कार्य गरेर नेपाल स्वयम् सेवक संघ सबैको मुटुमा बस्न सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य विमला घिमिरेले स्वयंम सेवक संघ नामले नै चिनिन सफल भएको बताईन् । बिभिन्न क्षेत्रबाट सेवा गर्ने भावना जागृत गर्नका निम्ती यस कार्यमा लागेका राष्ट्र निर्माणमा सरकारको मात्र मुख ताकेर मात्र नहुने भएको भन्दै यस्ता कार्यहरु नागरिक समाजबाट पनि गर्न सकिने भएको हुँदा नेपाल स्वयंम सेवक संघ संस्थाको नाम नै काफी रहेको बताईन् ।

राष्ट्रिय सभा सदस्य घिमिरेले स्वयंम सेवक संघले गरेका कार्यक्रमबाट आफू प्रभावित भएको बताईन् । उनले संस्थाको बारेमा नजिकबाट सुन्न पाउँदा खुशी ब्यक्त गरिन् । साथै यस संस्थाले छोटो समयमा निकै अनुकरणीय काम गरी निशुल्क खटिएर कुनै ब्यक्तिको ज्यान जोगाउन भूमिका खेल्नु नै महत्वपूर्ण भएको भन्दै शुभकामना व्यक्त गरिन् । यस संस्थाका लागि आफ्नो तर्फबाट हुने साथ र सहयोगका लागि प्रतिबद्धता जनाईन् ।

यसैगरी अहिलेका पुस्तामा स्वयम् सेवाको भावना हट्दै गएको भन्दै स्वयम सेवक संघले अब त्यो ग्यापलाई चिर्नुपर्नेमा जोड दिईन् । समाजमा धेरै दुखी गरिबहरु छन् उनीहरुलाई सहयोग गर्दा सन्तुष्ट हुन सकिने भएकाले त्यस्तो कार्यमा सबै लाग्नु पर्ने उनको भनाई छ । युवाहरुमा लागु पदार्थ दुरव्र्यसनी सेवन बढ्दै गएको हुँदा स्वयंम सेवक संघका पदाधिकारीहरुले जनचेताना मूलक अभियानहरु संचालन गरी त्यस्ता बिकृतिहरुलाई कम गर्न सक्ने बताईन् । उनले यस्ता संस्थालाई सरकारले पनि सहयोग गर्नुपर्ने बताईन् ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालले स्वयम् सेवक संघले निकै राम्रो काम गरेको भन्दै प्रसंसा गरे । बिभिन्न हिंसामा परेका महिला तथा बालवालिकाहरुलाई सहयोग गर्न स्वयंम सेवक संघ सक्रिय भएर अगाडी बढोस जिल्ला समन्वय समितीले सहयोग गर्न तयार भएको बताए । बाणगंगाकी अनिता विकको जीवन रक्षा गर्न र अन्य पीडामा परेकाहरुलाई सहयोग गरेर संस्थाले ठुलो सहयोग गरेको खनालले बताए । उनले यस्ता संस्था कुनै संगठनको दवाबमा रहेर हैन कुनै एक पार्टीमा आस्था भए पनि स्वयंम सेवकको रुपमा स्वच्छ भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारीले संस्थाको कार्य प्रति खुशी ब्यक्त गरिन् । उनले राष्ट्रको गरिमामय बढाउनका लागि यस स्वयंम सेवक संघको महत्वपूर्ण भूमिका रहने बताईन् । मानव अधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष पोम नारायण पौडेल, गैसस महासंघका अध्यक्ष प्रबिण कुमार श्रीवास्तव , कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, मानव अधिकारकर्मी रविन्द्रनाथ ठाकुर, इन्सेक प्रतिनिधी पार्वती आचार्य , मानव अधिकार निगरानी समुह जिल्ला संयोजक पुष्पा रेग्मी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक दिनेश गुरुङ, मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका अध्यक्ष गोविन्द पोख्रेल, रोटरी क्लवका अध्यक्ष माधव भाट क्षेत्री, लायन्स क्लवका अध्यक्ष धातानन्द भुसाल, कान्छी अधिवक्ता अंकिता श्रीवास्तव लगायतले बोल्दै संस्थाले छोटो समयमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष खेमराज शर्माले प्रस्तुतीकरण गर्दै संस्थाले गरेका कामको बारेमा जानकारी गराएका थिए । स्थापना भएको अढाई बर्षमा केही नतिजामुखी काम गर्न सफल भएको भन्दै आगामी दिनमा एम्बुलेन्स खरिद गर्ने, गौरक्षाको लागि गौशाला बनाउने, अन्याय र अत्याचारमा परेका पीडित परिवार तथा ब्यक्तिको लागि सहयोग जुटाउने लगायतका काम गर्ने जानकारी दिए ।

यस्तै स्वयसेवक संघले ‘अनिता बचाउँ अभियान थालेर कपिलवस्तुकी अनिता विकको सफल उपचार गर्न सकिएको उदाहरण प्रस्तुत गरेका थिए । यसैगरी काठमाण्डौँ, नवलपरासी लगायतका जिल्लामा समेत सरसफाई, रक्तदान, सहयोग लगायतका काम गरिएको जानकारी दिए ।
यसैबिच संस्थाले बिभिन्न क्षेत्रमा योगदान दिएका ३ दर्जन ब्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । संघको राष्ट्रिय पुरस्कारबाट मानव सेवा आश्रम बुटवल र पत्रकार चन्द्रकान्त न्यौपाने सम्मानित भएका छन् । मानव सेवा आश्रामले ‘स्वयम् सेवा मानव सेवा राष्ट्रिय सम्मान २०७८’ पाएको छ भने पत्रकार न्यौपानेले ‘स्वयम् सेवा राष्ट्रिय बहुमुखी प्रतिभा पुरस्कार २०७८’ पाएका छन् ।

यसैगरी इन्सेक प्रतिनिधी पार्वती आचार्य, गैसस महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्व, एलाईन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेल ,साझा प्रयास अभियानका संयोजक रबिन्द्रनाथ ठाकुर, मानव अधिकार निगरानी समूह जिल्ला संयोजक पुष्पा रेग्मी, मेचिकाली राष्ट्रिय दैनिकका प्रतिनिधी शुनिल आचार्य, अधिवक्ता अंकिता श्रीवास्तव लगायतका संस्थाका प्रतिनिधीहरुलाई स्वयंम सेवा बिशिष्ट सम्मान २०७८ बाट सम्मान पत्रले सम्मानित भएका छन् ।

संघकी केन्द्रीय महिला उपाध्यक्ष सरस्वती बस्यालको स्वागत र पत्रकार चन्द्रकान्त न्यौपानेको संचालन तथा कार्यक्रम संयोजक शुशिल खत्रीको धन्यबादमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज शर्माले आगामी योजना प्रतिवेदन, महासचिव सन्तोष अधिकारीले बार्षिक प्रतिवदेन र केन्द्रीय सदस्य शान्ता आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ७ प्रदेशका बिभिन्न जिल्लाबाट प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।