श्रीमतीको हत्यागरी भागेका श्रीमान ७ वर्षपछि पक्राउ

मेचीकाली संवाददाता

२८ पुष २०७८, बुधबार
405 shares

पार्वती आचार्य
कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगरमा २१ वर्षीया श्रीमतीको हत्यागरी आगो लगाएर भागेका श्रीमानलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।

भारतको सिद्धार्थनगर जिल्लास्थित ग्रामधन्सा घर भएका ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरेको हो ।

सिकन्दरलाई मंगलबार कपिलवस्तुको यशोधरा गाउँपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए । कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दरले २०७१ चैत १ मा श्रीमती किस्लावती चमारको हत्या गरि भागेका थिए ।

२०७१ फागुन ३० गते राति श्रीमतीलाई साथमा लिएर ससुराली आएका सिकन्दरले सोही राती घर नजिकैको खेतमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरबाट ३ सय मिटर पर जलेको अवस्थामा शव फेला परेको थियो । बिवाह भएको २ वर्षपछि किस्लावतीको हत्या भएको थियो ।

प्रहरीले सिकन्दरको साथबाट नम्बर प्लेट नभएको मोटरसाईकल, उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र दुई थान मोबाईल बरामद गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।