गार्गी एकेडेमीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

३ माघ २०७८, सोमबार
636 shares

बुटवल, माघ ३ । बुटवल– ११ देवीनगरस्थित गार्गी इन्टरनेशनल एकेडेमीको १२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता तथा सदस्य सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले विद्यालयमा प्राविधिक र व्यवसायिक शिक्षा सञ्चालन गर्ने योजना सहित अगाडि बढिएको बताए । सदस्य सचिव शर्माले विद्यालय छोटो समयमै अभिभावक र विद्यार्थीको पहिलो रोजाइँ बन्न सफल भएको भन्दै अगाडि दिनमा अझै गुणस्तरीय र व्यवसायिक शिक्षामा विद्यालय केन्द्रित हुने बताए । शर्माले विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने योजना पनि रहेको बताए ।

विद्यालयका प्राचार्य भुवन अधिकारी विद्यालयका शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै गार्गीलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकास गर्ने बताए । कार्यक्रममा विद्यालयका सल्लाहकार राजेन्द्र ढकाल, चन्द्रमणि अधिकारी, भरत पाठक लगायत बोलेका थिए । लेखा समिति सदस्य टुकप्रसाद पोखरेलले प्रस्तुत गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदन र अध्यक्ष रणबहादुर थापाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

कार्यक्रममा स्वागत उपाध्यक्ष झविन्द्र अधिकारीले गरेका थिए । २०६७ सालमा स्थापना भएको विद्यालयमा १ हजार ४०० विद्यार्थी अध्ययनरत छन् ।