बुटवलको सडक सञ्जाल विस्तार र स्तरीय हुँदै

मेचीकाली संवाददाता

७ माघ २०७८, शुक्रबार
582 shares

बुटवल । सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको लक्ष्य साकार पार्ने भन्दै निर्माण गरिएको बुटवलको सहरी विकास गुरुयोजनामा सडक सञ्जाल विस्तार र स्तरोन्नितलाई प्राथमिकतामा राखिएको छ । सोही अनुरुप बुटवलका अधिकांश सडक स्तरोन्नित र विस्तार हुँदैछन् । राष्ट्रिय राजमार्गका सडक खण्डमा ढिलाई भएपनि उपमहानगर मातहत रहेका आन्तरिक र बाइपासका अधिकांश सडक राजमार्ग सरह विस्तार भइरहेका छन् ।

यसैक्रममा मुलुककै धेरै जनसंख्या रहेको बुटवल वडा नं.११ का सडकलाई विस्तार तथा स्तरोन्नति गर्ने काम अगाडि बढेको छ । उक्त वडाका बेलबास(बुद्धनगर, मिलनचौक(चौपारी, देवि पथ, रङ्गशाला पथ र शान्ति पथलाई स्तरोन्नित र विस्तार गर्ने काम सुरु भएको छ । यहाँका सडकलाई बुटवल चक्रपथ, बुटवल पर्यटन सर्किट, तिलोत्तमा चक्रपथ, सैनामैना चक्रपथ, भैरहवा(लुम्बिनी सडक र विमानस्थलमा जोडिने ठूला मार्गमा जोडिने छन् । तीमध्येका प्रमुख बाइपास सडक देवी पथ र रङ्गशाला मार्ग विस्तार एवम् स्तरोन्नति कार्यको शुक्रबार नगर प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभएको छ ।

करीब १० करोड लगानीमा यी दुई बाइपास सडकको स्तरोन्नित गरिँदैछ । शिलान्यास समारोहमा उहाँले विकास निर्माणका कामलाई साझा मुद्दा बनाएर सहकार्य गर्न सबैसंग आग्रह गर्नुभयो । बुटवलको आवधिक र दीर्घकालीन योजनालाई साकार पार्नेतर्फ अहिले आवधिक योजनाहरु पूरा हुने अवस्थामा पुगेको र दीर्घकालीन योजनाहरुलाई पनि तीब्रता दिइएको प्रमुख सुवेदीले बताउनुभयो ।

रंगशाला मार्गमा नाली, फुटपाथ, हरियाली क्षेत्र सडक बन्नेछ । यसका लागि कुल बजेट ९ करोड ६१ लाख ५१ हजार ९ सय २४ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण कम्पनी रायमाझी प्रदीप जेभी बुटवलले ६ करोड ७० लाख १४ हजार छ सय १० मा ठेक्का सम्झौता गरि काम सुरु गरेको छ । आगामी जेठ १५ गतेसम्म उक्त सडक निर्माण सक्नुपर्ने गरि सम्झौता भइ काम सुरु भएको इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिनुभयो । उक्त सडकको बजेट स्रोत संघीय सरकारको समपुरक अनुदान हो ।

यस्तै बुटवल-११ कै देवि पथको बाइपास सडक लुम्बिनी प्रदेश सरकारको आधा र बुटवल उपमहानगरपालिकाको आधा गरी कुल ३ करोड लागत सहभागितामा निर्माण सम्पन्न हुनेछ । देवसिद्ध चोक देखि सिमाना सडकसम्म दुबैतर्फ नाली, कल्भर्ट तथा सबग्रेड, हरियाली क्षेत्र, फुटपाथ निर्माण गरिने छ ।

यी दुबै महत्वपूर्ण सडक योजनाको शिलान्यास समारोहमा प्रमुख सुवेदीसहित उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्ष रामचन्द्र क्षेत्री, राजनीतिक दलका नेताहरु, वडाका जनप्रतिनिधिहरू, इन्जिनियरहरु, टोल विकास संस्थाका अगुवाहरुको सहभागिता थियो ।
संघीय सरकार, मातहतका निकाय, प्रदेश सरकार र मातहतका कार्यालयले बुटवलको सडक सञ्जाल विस्तार र स्तरोन्नतिमा सहकार्य गरेका छन् । रुपन्देहीलाई विकासको रोलमोडल बनाउने संकल्पकर्ता र त्यसलाई साकार पार्ने काममा निरन्तर समर्पित नेपाल सरकारका पूर्वउपप्रधान तथा अर्थमन्त्री आदरणीय नेता विष्णुप्रसाद पौडेलको अगुवाइमा बुटवल सहित यहाँका अधिकांश पालिकामा विकास निर्माणका काम तीब्र भइरहेका छन् ।

बुटवलको मुख्य भागबाट गएको राजमार्गको चौराहा(गोलपार्क खण्डको काम पनि ठेकेदारले ढिलोगरि अहिले अगाडि बढाएको छ । यस्तै बेलबास(बेथरी सडकको बाँकी खण्ड, बेलबास(नुवाकोट खण्डका अधुरा काम समेत अहिले अगाडि बढिरहेको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो ।

बुटवलको नमुना सडक कालिका पथको विस्तार र स्तरोन्नतिको काम पनि चलिरहेको छ । सडक क्षत्राधिकारमा बनेका संरचना हटाउन ढिलाइ गरेकाले, साइट क्लियरमा ढिकाइ गरिएकाले र कोरोना महामारी तथा लगातारको वर्षाले विकास निर्माणका अधिकांश काम प्रभावित भएको अवस्था छ ।