राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

मेचीकाली संवाददाता

१३ माघ २०७८, बिहीबार
529 shares

बुटवल । लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३ सय ४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३ सय ७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले ४ हजार ३ सय ५६ भोट ल्याएर उनीहरु विजयी भएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराए ।

प्रतिपक्षी दल नेकपा (एमाले) बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३ सय ७८ मत ल्याएका छन् भने महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले ३ हजार ३ सय १२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले ३ हजार ३ सय ४८ मत ल्याएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता रहेकामा २ सय ९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् । स्थानीय तहतर्फ २ सय १५ मध्ये २ सय १३ जनाले मतदान गरेका छन् । राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवलशमसेर राणा र एकजना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।

वाग्मती प्रदेशमा पनि गठबन्धन विजयी
वाग्मती प्रदेशमा पनि राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौपौडेल निर्वाचित भएका छन ।
वाग्मतीमा महिलातर्फ एक जना र अन्यतर्फ एक जना गरी २ पदका लागि निर्वाचन भएको थियो । २ सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।

स्थानीय तहअन्तर्गत २ सय ३७ मा महिलातर्फका उम्मेदवार तिमल्सिनाले १ सय १६ मत र कुँवरले १ सय १७ मत पाएका छन् । त्यसैगरी गीता काफ्लेले २ मत र २ मत बदर भएको छ । यता स्थानीय तहअन्तर्गत अन्य सदस्य पदका उम्मेदवार पौडेलले २ सय ३७ मतमा ११७ मत र शाक्यले १ सय १६ मत प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार २ तामाङले मत प्राप्त गरेका छन् र दुई मत बदर भएको छ । प्रदेशसभा अन्तर्गत १ सय ६ मा तिमल्सिनाले ५७ मत र कुँवरले ४७ मत पाएकी छिन् भने नेमकिपा उम्मेदवार काफ्लेले २ मत प्राप्त गरेकी छिन् ।

प्रदेशसभाअन्तर्गत अन्य सदस्य पदका पौडेलले ५६ मतमा मत र शाक्यले ४७ मत प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका छन् । निर्वाचनमा ३ सय ४६ मतदाता रहेको निर्वाचनमा ३ जना मतदाता अनुपस्थित रहेका थिए ।