मेचीकाली दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत

मेचीकाली संवाददाता

१६ माघ २०७८, आईतवार
841 shares

बुटवल । प्रेस काउन्सिल नेपालले आइतबार पत्रपत्रिकाहरुको वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजा अनुसार मेचीकाली सन्देश राष्ट्रिय दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुन सफल भएको छ ।

मेचीकाली सन्देश राष्ट्रिय दैनिक २०६२ सालदेखि हालसम्म निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुँदै आएको छ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ. व. २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो ।

आ.व. २०७५/०७६ को वर्गीकरणको लागि ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकाले आवेदन दिएका थिए ।
त्यसैगरी आ. व. २०७६÷०७७ को वर्गीकरणको लागि ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकाले आवेदन दिएका थिए ।

प्रेस काउन्सिलको माघ १४ मा बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । साथै नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिएको दस्तुरको पच्चीस प्रतिशत दस्तुरसहित पुनःयोग / पुनः मूल्याङ्नका लागि निवेदन दिन सक्नेछन् ।