सियारीमा अखिल नेपाल किसान महासंघले बुझायो ज्ञापनपत्र

मेचीकाली संवाददाता

२० माघ २०७८, बिहीबार
557 shares

तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिकामा अखिल नेपाल किसान महासंघ सियारी गाउँपालिका कमिटीले किसान हकहित र अधिकार सम्बन्धि विभिन्न मागहरू पुरा गर्न ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघ सियारी गाउपालिका कमिटीका अध्यक्ष माधव पन्थीले सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुलाई ज्ञापनपत्र बुझएका हुन ।

ज्ञापनपत्रमा असोजको अन्तिम साता र कार्तिकको पहिलो सातामा परेको अविरल वर्षा, बाढी र डुवानका कारण किसानहरुमा पर्न गएको क्षतिपूर्ति बापतको राहत तुरुन्त वितरण गरियोस् । धान रोपाइको समयमा मात्र होइन, हिउदे बालीमा समेत रासायनिक मलको चरम अभाव देखियो त्यसैले मलको सधैं आपूर्तिको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै वर्तमान सरकारले भुमि समस्या समाधान आयोग खारेज गरि केपि वलिको नेतृत्व सरकारले भुमिहिन किसानलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न तयार पारेको कामलाई बेवारिस बनाइएको छ त्यसैले आयोगको अधुरा रहेकोे कामलाई अगाडि बढाउन आग्रह गरिएको छ । किसानहरुलाई बीउ बिजन उपलब्ध गराउदा गुणस्तरीय बीउ विजन उपलब्ध गराउन माग गर्दछौं । वास्तविक किसानहरुलाई कृषि ऋृण, अनुदान तथा आवश्यक प्राविधिक सेवा उपलब्ध गराउन आवश्यक पहल गरिदिन माग गर्दछौँ ।

कृषि उपजको न्युनतम समर्थन मुल्यको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछौं साथै वास्तविक विषयगत किसानहरुलाई पहिचान गरि आवश्यक तालिम एवं उचित अनुदानका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयनका लागि उचित व्यवस्थापन गर्न जोडदार माग गर्दछौं ।वर्षेनि आउने गरेको वर्सबाडी पहिरोबाट हरेक वर्ष लाखौं करोडौंको बालिनाली धनजनको क्षति हुने हुनाले अविलम्ब निशुल्क कृषि धन विमा कार्यलाई कार्यान्वयन गर्न आवश्यक व्यबस्था गर्न माग गरिएको छ ।

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले ज्ञापनपत्रमा प्रस्तुत गरिएका मागहरु पूरा गर्न पहल गरिने बताए ।