गर्भवती महिलाको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

मेचीकाली संवाददाता

२१ माघ २०७८, शुक्रबार
352 shares

कपिलवस्तु । कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–८ की २१ वर्षीया रहिसुननिसा मुसलमानलाई गत बुधबार राती झुन्डाएर हत्या गरेको आरोपमा उनका श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेका मृतकका श्रीमान २२ वर्षीय मोहम्मद नसिम अलिभाट मुसलमान र ससुरा ५० वर्षीय अब्बास अलिभाट मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दानबहादुर कार्कीले जानकारी दिए । हत्यापछि शवलाई मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर गाडिएको थियो । प्रहरीले शुक्रबार उक्त शव उत्खनन गरी पोस्टमार्टमका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ । मृतक गर्भवती भएको बताइएको छ ।

जिल्ला अस्पताल तौलिहवाका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी लगायतको टोलिले शव उत्खनन गरेको थियो । मृत्यु शंकास्पद रहेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।