प्यूठानमा बिहेको जिप दुर्घटना अपडेट: एकै परिवारका ३ सहित ८ जनाको मृत्यु

घाइतेलाई बुटवल रिफर

मेचीकाली संवाददाता

२२ माघ २०७८, शनिबार
654 shares

बुटवल । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मत्यु भएका ८ जनामध्ये एकै परिवारका ३ जना (श्रीमान, श्रीमती र छोरी) रहेको खुलेको छ।

जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय बसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती बसन्ती खड्का र उनीहरूकी १३ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका प्रमुख बिष्णु गिरीले जानकारी दिए। बसन्त कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति हुन् ।

दुर्घटनामा २९ वर्षीया केशरी खड्का, ५० वर्षीया बलबहादुर बुढा मगर, ३२ वर्षीया खिम खत्री, ५० वर्षीया नन्दि खड्काको पनि मत्यु भएको छ। थप एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन। उनी बेहुलीको आफन्त हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जना मध्ये ३ जनालाई थप उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालमा रिफर गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। अन्य दुई जना घाइतेको विजुवारमा उपचार भइरहेको छ।

दुर्घटनामा बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली २० वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन्।

नौबहिनी गाउँपालिका–६ लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिका–६ लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप गएराती ओखरपाटामा दुर्घटना भएको थियो।

रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ। घटनास्थल विकट भएको र रातीको समय भएकाले उद्धारमा ढिलाई भएको हो।