स्वास्थ्य सचेतना कार्यक्रम गर्दै प्रेस चौतारी रुपन्देहीले मनायो स्थापना दिवस

मेचीकाली संवाददाता

२२ माघ २०७८, शनिबार
484 shares

बुटवल । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले जिल्लाका विभिन्न पालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बुटवल, सैनामैना, भैरहवा, हरैयालगायतका स्थानमा स्वास्थ्य सचेतना कार्यक्रमसँगै मास्क वितरण गरिएको हो ।

बुटवलको नयाँ बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसीले स्वास्थ्य सचेतना कार्यक्रम प्रभावकारी भएको बताए । कोभिडको जोखिम कायमै रहेकाले सवारीचालक, सहचालक र यात्रुसँगै अन्य सर्वसाधारणलाई सचेत गराई मास्कवितरण गर्नु उदाहरणीय कार्य रहेको बताए । उनले श्रमजीवी पत्रकाहरुको हकहितका लागि संगठन आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज प्रदिप आचार्य, रुपन्देही जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवालीले स्वास्थ्य मापदण्ड पालना गरेर कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनुपर्नेमा जोड दिए । कार्यक्रममा कार्यसमिति पदाधिकारी, सदस्य लगायतको उपस्थिति थियो ।

त्यस्तै भैरहवामा पनि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । भैरहवास्थित मिलनचोकमा मास्क वितरण गरिएको हो । प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य कुलमणि ज्ञवालीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमाबोल्दै ज्ञवालीले कोभिड–१९ संक्रमणबाट बच्न र बचाउन सञ्चार माध्यमबाट पनि सचेतना फैलाउनुपर्ने बताए ।

त्यस्तै स्थापना दिवसको अवसरमा सैनामैनामा पनि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख कार्कीले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखाको कार्यक्रमअन्तर्गत सैनामैनामा पनि कार्यक्रम गरी कोभिड महामारीको समयमा स्वास्थ्यप्रति सचेत गराउँदै मास्कवितरण कार्यक्रम गर्नु सकारात्मक रहेको बताए । उनले श्रमजीवी पत्रकारहरुको हकहितका लागि संगठनले उत्कृष्ट कार्यगर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

त्यस्तै स्थापना दिवसको अवसरमा कञ्चन गाउँपालिका–३ हरैया बजारमा पनि स्वास्थ्य सचेतना कार्यक्रमसँगै माक्स वितरण गरिएको छ । कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्री, इलाका प्रहरी कार्यलय रुद्रपुरका प्रमुख राजाराम यादवलगायतको उपस्थिती रहेको थियो ।