मुलुकको निकास ताजा जनादेशबाट मात्रै हुन्छ : प्रदीप ज्ञवाली

मेचीकाली संवाददाता

२३ माघ २०७८, आईतवार
466 shares

बुटवल । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहलाई एक दिन पनि खाली गराउने छुट सरकारलाई नभएको बताएका छन्। ज्ञवालीले मुलुकको निकास ताजा जनादेशबाट मात्रै हुने भएकाले जेठ ५ भित्रै स्थानीय तहको निवार्चन हुनुपर्ने बताए।

प्रेस चौतारी नेपाल रूपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालको इतिहासले कहिल्यै नभोगेको अस्तव्यस्त अवस्था सिर्जना गरेको आरोप पनि लगाए। उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गिजोल्दा देशको लोकतन्त्र नै धरासायी भएको दावी गरे।

‘वर्तमान देशको अवस्था आन्तरिक र बाहिय हिसाबले चुनौतीपूर्ण देखिएको छ। छालाका जुत्ता पानी देखेर डराएजस्तै वर्तमान सरकार निर्वाचनबाट भागेको छ,’ पूर्व मन्त्री समेत रहेका नेता ज्ञवालीले भने।

ज्ञवालीले कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन छल्न अनेक बाहना गरिरहेको बताए। ‘निर्वाचन जहिले भए पनि एमाले फेस गर्न तयार छ,’ उनले भने। संविधानले स्थानीय तह एक दिन पनि रिक्त नहुने व्यवस्था भए पनि त्यसलाई छलेर खाली गर्न अनेक बाहना रचिएको उनको भनाइ छ।

‘बिना कुनै चलखेल छिटो चुनावको मिति घोषणा देउवाले नगरे फेरि उनलाई कलंकको टीका लगाउने छन्। कुनै पनि बहानामा स्थानीय चुनाव रोक्ने पाइदैन,’ ज्ञवालीले भने।

एमालेले एमसीसीप्रति उपयुक्त समयमा आफ्नो धारणा दिने बताए। माओवादीले एमसीसीमा दोहोरो भूमिका खेलेको उनले दावी गरे। ‘पास गर्न उहाँहरुलाई संसद्मा बहुमत छ। सरकारले एसीसीबारे अमेरिकातर्फ फर्केर एउटा र नेपालतर्फ फर्केर एउटा कुरा नगरोस्,’ ज्ञवालीले भने।

सरकारले एमसीसी संसद्मा ल्याएपछि एमाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने ज्ञवालीले बताए। ‘सभामुखले संसद्को ढोका बन्द गरेका छन्। एमसीसीप्रति सभामुखको धारणा विवादास्पद छ। प्रक्रियामा अल्झिएकोले एमालेले आफ्नो धारणा नल्याएको हो। एमालेले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्छ,’ उनले भने।