बुटवलमा कार दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते

मेचीकाली संवाददाता

२४ माघ २०७८, सोमबार
675 shares

बुटवल । रुपन्देहीको बुटवलमा सोमबार बिहानै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित कोरियन कलेज अगाडी रोकिराखेको ट्रकमा कार ठोक्किएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।

पश्चिमदेखि पूर्व दिशामा रोकिराखेको ना २ ख ९७७२ नम्बरको पराल बोकेको ट्रकमा सोही दिशाबाट आएको लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको थियो।

दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ का २८ वर्षीय सविन चौधरी, बुटवल १३ कै २७ वर्षीय गोविन्द चौधरी र बुटवल १२ का २६ वर्षीय नविन श्रेष्ठ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका बुटवल–१२ का भागिरथ चौधरी र अनिश जिसीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक चालक फरार रहेको बताइएको छ। घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।