करोडौँ ठगी गर्ने ईश्वरीप्रसाद कपिलवस्तु प्रहरीको फन्दामा

मेचीकाली संवाददाता

२६ माघ २०७८, बुधबार
509 shares

पार्वती आचार्य
कपिलवस्तु । ठुलो रकम तथा सामान ठगी गर्दै आएका एक व्यक्ती कपिलवस्तु प्रहरीको फन्दामा परेका छन् । प्युठानको तोरवाङ गाउँपालिका ६ घर भएर झिमरुक गाउँपालिका बस्ने ५० वर्षिय ईश्वरीप्रसाद पोखरेल माघ २४ गते कपिलवस्तुबाट पक्राउ परेका हुन् । बाग्मती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले चेकपोष्ट अगाडीबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी दान बहादुर कार्की जानकारी दिए ।

दुई दशक देखि विभिन्न ठगीको आरोपमा फरार रहेका पोखरेलले ठूलाबडा नेताहरुको परिचयबाट ठगी गर्ने र व्यवसायीको नाममा विभिन्न कम्पनीबाट सामान खरिद गरी रकम नभएको बैंकको चेक दिई ठगी गर्दै आएको पाईएको छ । कपिवस्तुमा यसअघि उनीविरुद्ध विभिन्न मुद्दा परेको थियो । साथै उनले अन्य ठाउँमा समेत ठगी गरेको हुनसक्ने हुनाले निजबाट ठगिएका पीडितहरुलाई कपिलवस्तु प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको थियो । उनले विभिन्न स्थानमा आफूलाई छुट्टै पहिचानबाट चिनाउने गरेको प्रहरीले जनाएको छ । पहिचान फेरर उनले ठुलो रकमको सामान तथा रकम ठगी गरी उक्त स्थानबाट फरार हुँदै आएको प्रहरीले जनाएको छ ।

उनले ठगीका क्रममा प्युठान तोरवाङ गाउँपालिका ६ घर भई हाल झिमरुक गाऊँपालिका ६ तोरवाङ बस्ने भेडीगोठ बाख्रा फार्म प्रालिका सञ्चालक रहेको बताइएको प्रहरीको भनाई छ । त्यस्तै, मकवानपुरमा कामधेनुगाई फार्म प्रालिका प्रोपाईटर, खैरेनीपुर चितवनमा प्रिसा पशुपन्छी तथा कृषि फर्म प्रालिका प्रोपाईटर, झिमरुक प्युठानमा प्रिंस कन्ट्रक्सन प्रालिका प्रोपाईटर, काठमाडौँ महानगरपालिका ३२ काठमाडौँ, गौमुखी फिड ईन्डष्ट्रिज कपिलवस्तुको प्रोपाईटर बताउँदै आएका थिए । उनले आफूलाई प्रोपाईटर भएको भनी बताएका फर्महरुको भौतिक रुपमा स्थापना र सञ्चालनमा रहेको समेत नपाइएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका १ मालटोल स्थित केएनजी मार्ट पसलमा असार १८ गते ५० हजार बराबरको किराना सामग्री किनी उनले माछापुच्छ्रे बैंकको चेक दिएका थिए । उक्त चेक क्लियरिङ गराउँदा पोखरेलको खातामा रकम नभएपछि कपिलवस्तुमा उनीविरुद्ध ठगी मुद्दा परेको थियो । सोही मुद्दामा अनुसन्धान कार्य जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

यसअघि ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा पोखरेलविरुद्ध २०५७ असोज १ गते स्थानीय जनतालाई डर त्रासको वाताबरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्दा दर्ता भएको । त्यस्तै, ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९ पुस १६ गते तत्कालीन साइन डेभलेपमेन्ट बैङकको केन्द्रीय कार्यलयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी पोखरेलले माओवादीका नेता जनार्दन शर्मा प्रभाकर बताई ७ लाख रकम ठगी गरेका थिए । सोही ठगी मुद्दामा अनुसन्धान पश्चात जेल चलान भएका थिए ।

यसैगरी महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३ मंसिर ७ गते राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी १ लाख ५० हजार ठगी गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यस्तै, पोखरेलविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा २०७८ पुस ७ गते आफ्नो बैङ्क खातामा नभएको ५० लाखको चेक काटेपछि उक्त रकम बैंकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो ।

त्यस्तै, ०६४ र ०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गा.बि.स हाल राप्ती गाउपालिका २ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि विभिन्न व्यक्तिहरूबाट १ करोड भन्दा बढी रकम ठगी गरी फरार भएको भन्ने खुल्न आएको छ । त्यस्तै, ०६५ सालमा कैलाली जिल्लाको धनगढी स्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी पोखरेल फरार भएको अनुसन्धानबाट खुल्न आएको छ । त्यस्तै, पर्सा जिल्लाको वीरगञ्जमा देवेन्द्र कुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट आफुलाई गौमुखी फीड इन्डस्ट्रीज एवं ट्रेड लिंक प्रालिको सञ्चालक भनी ४७ लाखको समान खरिद गरी पोखरेलले रकम नभएको खाताको चेक दिई फरार भएका थिए ।

त्यस्तै, पोखरेलले गोयल कम्पनिको विक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट मिति २०७८ माघ ५ गते फ्याक्ट्री बनाउन लागेको भन्दै २३ लाख बराबरको हार्डवेयर सामग्री किनेर कृषि विकास बैंकको रकम नभएको चेक दिई फरार भएका थिए । त्यस्तै, नेपाली सेनाको ठेकेदार हुँ भन्दै चितवन जिल्लाको टाडीमा सञ्चालित रिजाल फुड एण्ड बेभेरागेज प्रालिबाट कात्तिक ३० गते गौमुखी फिड ईन्डष्ट्रिज प्रालिको नाममा खाद्यवस्तु किनी रकम नभएको माछापुच्छ्रे बैंकको चेक दिई फरार भए पछि कम्पनीले २८ लाख रुपैंया क्षती व्यहोरेको थियो ।

त्यसैगरी नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५ लाख बराबरको सामान लिई रकम नभएको चेक दिई फरार भएको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, प्युठान सिमेन्ट कारखानाबाट २० लाख बराबरको सामान लिई रकम नभएको चेक दिई फरार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, गोल्छा अर्गनाईजेसनबाट ३० लाख बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई पोखरेल फरार भएको पुष्टि हुन आएको प्रहरीले बताएको छ । काठमाडौँ जिल्लाको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्सबाट १ लाख २७ हजार बराबरको विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको रकम नभएकोको चेक दिई फरार रहेको समेत अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

२०५७ सालदेखि नै ठगीको काम गर्दै आएको देखिएको हुँदा ईश्वरी प्रसाद पोखरेलले अन्य ठाउँमा पनि ठगी गरेको हुनसक्ने भएको हुनाले निजबाट ठगीएका पिडितहरु जो कोही भएमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्पर्कका लागि अनुरोध गरेको छ ।