बुटवलमा एमसिसीविरुद्ध समाजवादीको प्रदर्शन

मेचीकाली संवाददाता

२ फाल्गुन २०७८, सोमबार
575 shares

बुटवल । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृसंगठनहरुले बुटवलमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसिसी राष्ट्रिय हितविपरीत रहेको भन्दै आइतबार बुटवलमा विरोध प्रदर्शन गरिएको हो ।

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसिसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए । उनले सम्झौता लागू गराउन अमेरीकाले नेताहरुलाई धम्कीदिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए ।

बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थपाले एमसिसि परियोजनाबारे राजनैतीक र नागरिक तहमा थुप्रै प्रश्नहरु उठेकाले त्यसबारे सहमती नगरिकन संसद्मा लैजानै नहुने अडान लिए । विरोध प्रदर्शनमा एमसिसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसिसी खारेज गरौँ, ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए ।

अनेरास्ववियूका केन्द्रीय सचिव कृष्ण थापा, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसिसी परियोजना खारेज गर्न माग गरे । प्रदर्शनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागार्इं, केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश कमिटी सदस्य हिराध्वज शाहलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।