शुद्धोधनमा साइलेज उत्पादन तथा मकैखेती तालिम

मेचीकाली संवाददाता

३ फाल्गुन २०७८, मंगलवार
223 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ मा साइलेज उत्पादन तथा मकैखेती प्रविधि तालिम सम्पन्न भएको छ । एसके खनाल एग्रो कम्पनीको आयोजना र शुद्धोधन–२ को आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै यस खनाल साइलेज कम्पनीले गाउँपालिकामा पशुपालन किसानहरूको आवश्यकता अनुसारको कार्यक्रम ल्याएकोमा धन्यवाद व्यक्त गर्दै पशुपालन किसानहरूले पनि तालिममा मात्रै सीमित नभई तालिमको सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुनुपर्नेमा उनले जोड दिए ।

शुद्धोेधन–२ का अध्यक्ष बस्यालले पशुपालन व्यवसायीको हितका लागि तालिम आयोजना गरिएको बताए । यो तालिमले दुधको उत्पादन बढाउनमा सहयोग पुग्ने अपेक्षा राखेको र अगामी दिनहरूमा पनि कृषकको हितमा रही बृहत् तालिमहरुको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
शुद्धोधन–२ का वडा सदस्य उमाकान्त चापागाईंले यस क्षेत्रमा पशुपालन किसान धेरै भएपनि साइलेजको बारेमा ज्ञान खासै नभएकोले यो तालिमले किसानहरुलाई धेरै फाइदा पुग्ने बताए ।

एसके साइलेज कम्पनीका प्रबन्ध निर्देशक सञ्जय खनालले शुद्धोधन गाउँपालिकाका सातवटा वडालाई मकै उत्पादनमूलक मकैजोन र मकैमै आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए । यसक्षेत्रमा पशुपालन किसानहरूले मकै खेतीयोग्य जग्गाको विवरण दिएर एसके खनाल साइलेज कम्पनीसँग सहकार्य गरी मकै खेतमा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने दावी गरे ।

एसके खनाल साइलेज कम्पनीका प्रबन्ध निर्देशक सञ्जय खनालको स्वागत उत्पादन व्यवस्थापक माधव चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।