सरकार चुनाव नगर्ने बाहानामा लागेको छ : विष्णु पौडेल

मेचीकाली संवाददाता

३ फाल्गुन २०७८, मंगलवार
615 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार पर्दा पछाडिबाट अझै स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

एमाले र जनताको दबाब थेग्न नसकेर चुनाव घोषणा गरेपनि सत्तारुढ गठबन्धनले चुनाव नचाएको बताए । नेकपा एमाले, रुपन्देहीले सोमबार रोहिणी गाउँपालिकाको धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको रोक्न बाहना एमालेले पूरा हुन नदिने बताए ।

उनले भने, ‘चौतर्फी दबाबका कारण सत्तारुढ गठबन्धनले चुनाव गरे पनि आफूहरु पराजित हुने डरले चुनाव हुन नदिने बाहनामा लागेका छन् । त्यसलाई एमालेले सफल हुन दिँदैन ।’ केपी शर्मा ओली नेतृत्वको सरकारलाई अदालतको परमादेशबाट हटाएर गठबन्धन सरकार बनाइए पनि यो सरकार पूर्ण रुपमा असफल भएको उनले दावी गरे । वर्तमान सरकारले केही पनि गर्न नसक्ने उनको पौडेलको भनाइ थियो ।
पौडेलले रुपन्देहीको विकासको जिम्मा एमालेले लिने बताए । एमाले प्रवेश गर्ने गाउँपालिका अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षसहित सबैलाई सही समयमा सही पार्टी रोजेको बताए । रुपन्देहीका तराई क्षेत्रका पालिकाहरुको विकासका लागि आफूले विगतदेखि नैं योजनाहरु ल्याएको भन्दै नेता पौडेलले आगामी दिनमा अझै व्यापक बनाउने बताए ।

पौडेले अबको निर्वाचन एमालेले एक्लैले जित्ने बताए । जतिसुकै राजनीतिक दल मिलेर आए पनि एमाले एक्लैले सबैलाई पराजित गर्ने दावी गरे ।
‘सरकारले केही गर्न सकेको छैन, उनले भने, पूँजीगत खर्च हुन सकेको छैन, महंगी बढेको छ ।’ विकासको सबै दृष्टिकोणले रुपन्देहीलाई नमूना बनाउने उनले बताए । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले रोहिणी र ओमसतिया गाउँपालिकालाई अत्यन्तै विकसित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । सिंगो जिल्लालाई विकासका दृष्टिकोणले माथि उठाउने उनले बताए । उनले भने, ‘विकासको आवश्यकतालाई पूरा गर्छौं, एमालेले विकासको जिम्मेवारी लिन्छ, सबै प्रकारका विभेद र असमानता हटाउँछ ।’

नेपाली जनताले आफ्नो प्रिय पार्टीको रुपमा एमालेलाई स्वीकार÷ग्रहण गरिसकेको उनको भनाइ थियो । ‘सबै राजनीतिक दलको परीक्षा भएको छ, जनता तथा राष्ट्रको पक्षमा काम गर्ने पार्टी एमाले हो, सबैप्रकारका विभेद समाप्त गर्ने पार्टी एमाले हो,’ उनले भने ।
एमालेकोतर्फबाट निर्वाचित जनप्रतिनिधिहरु सम्पूर्ण रुपमा जनताप्रति समर्पित भएको उनले बताए । ‘पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई उपयुक्त जिम्मेवारी दिएर पार्टीको काममा लगाउँछ,’ पौडेलले भने ।

त्यस्तै नेकपा एमालेका सचिव, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले विकास र समृद्धिको आंकाक्षा पूरा गर्न पार्टी एमाले भएको दावी गरे । उनले विकास एमालेको प्राथमिकतामा भएको दावी गरे । विकास, समृद्धिको पक्षमा रहेका जनता एमालेको पक्षमा छन् । ’ उनले भने ।

कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य सावित्रा अर्याल, प्रदेश कमिटी सदस्य बाबुलाल यादव, सञ्जय गुप्ता, शैलेन्द्र उपाध्याय, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल), रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, नेताहरु मुलायमसिंह यादव, प्रदीप कुमार पाण्डेलगायतले बोल्दै एमालेकै नेतृत्वको मूलकको विकास हुने दावी गरे ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष जागेश्वरी देवी चौधरीको स्वागत तथा सचिव यज्ञ गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।