रुपन्देहीमा बन्दको आंशिक प्रभाव, ९ जना पक्राउ

मेचीकाली संवाददाता

४ फाल्गुन २०७८, बुधबार
575 shares

बुटवल । एमसीसीको विरोध गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको रुपन्देहीमा आंशिक प्रभाव परेको छ ।

बन्द गराउँदै हिँडेका नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवा संयोजक सन्तोष सुवेदीसहित ९ जना प्रहरीले पक्राउ गरेको छ । थारु सहित, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा सिद्धार्थ राजमार्ग तथा पुर्व–पश्चिम राजमार्ग विहानैदेखि सुनसान देखिएका छन् । सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिदै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी मुख्य चोकहरुमा तैनाथ गरिएको छ ।

जिल्लाको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, देवदह लगायतका क्षेत्रका सडकमा सार्वजनिक सवारीसाधन नचले पनि बिस्तारै निजी सवारीको चाप बढ्दै गइरहेको छ । पसलहरू भने खुलेका छैनन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना नभएको उनले बताए ।