गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘क्यालिब्रेसन फ्लाइट’

मेचीकाली संवाददाता

६ फाल्गुन २०७८, शुक्रबार
434 shares


बुटवल । बहुप्रतिक्षित रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । त्यसको लागि थाइल्याण्डबाट एरोनटिकल रेडियो गौतमबुद्ध अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीबार साँझ भैरहवा आइपुगेको छ । विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रबारदेखि परीक्षण उडान हुने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकारणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनको लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो । परीक्षण उडानका लागि लामो समयदेखि विभिन्न तयारी चलिरहेका छन् । विमान उडान÷अवतरण गर्ने धावन मार्ग सरसफाइको काम सकिएको छ ।

विमान सञ्चालनमा अवरोध पु¥याउने वस्तु धावमार्गबाट हटाउन पखालिएको छ । ‘रनवेमा विद्युतीय र चुम्बकीय वस्तु छन् कि भनेर पखालिएको हो ।’ आइसीवी–टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले भने, ‘घाँस काटिएको छ । यसबाहेक उडानका क्रममा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको छ ।’

विमानस्थलमा जडान गरिएका उपकरण काम गर्न तयारी अवस्थामा छन्÷छैनन् भन्नेबारे प्रष्ट हुन उक्त परीक्षण गर्न लागिएको उनले बताए । न्यौपानेका अनुसार आगामी फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण हुनेछ । त्यसका लागि प्राधिकरण र विमानस्थल निर्माण आयोजनाले तयारी गरिरहेको न्यौपानेको भनाइ छ ।

एरो थाईले कोरोना महामारीलाई ख्याल गर्दै भीडभाड नगर्न, स्वास्थ्य मापदण्डको ख्याल गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी २ वटा दैनिक परीक्षण उडान हुनेछन् । उक्त अवधिभरि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछन् । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको मागअनुसारको समयसम्म उडान भर्ने सुविधा दिने जनाएको छ ।

आउँदो जेठबाट विमानस्थलबाट नियमति उडानको तयारीमा प्राधिकरण रहेको छ । यसअघि विमानस्थलको ग्राउण्ड चेकिङलगायत प्राविधिक परीक्षणका काम भएका थिए । थाइल्याण्डबाट आएको प्राविधिक टोली विमानस्थलको भौतिक संरचना र जडान गरिएका उपकरण जाँच गरेको थियो । टोलीले विमानस्थलको ग्राउण्ड र उपकरण जाँच गरेपछि परीक्षण उडानका लागि सबै प्रविधि योग्य रहेको प्रतिवेदन बुझाएको थियो । परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाई कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाई कम्पनीकातर्फबाट उपकरण र विमानस्थलको ग्राउण्ड जाँच गरेको बताए ।

साथै परीक्षण उडान र विमानस्थल स्थायी सञ्चालनका लागि नेपाली इञ्जिनियरसहितको प्राविधिक टिमलाई भैरहवामा दुई महिने तालिम सञ्चालन गरिएको थियो । तालीममा विमानस्थलमा जडान गरिएका उपकरणको सञ्चालन कसरी गर्ने सिकाइएको थियो । तालिममा अमेरिका, अष्ट्रिया र थाइल्याण्डका प्रशिक्षक रहेका थिए । भैरहवा, काठमाडौं, नेपालगञ्ज र चन्द्रगढी विमानस्थलका गरी १२ जना नेपाली इञ्जिनियर तालिममा सहभागी भएका थिए ।