मानव अधिकार एलाइन्स कपिलवस्तुमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

१० फाल्गुन २०७८, मंगलवार
431 shares

सुनिल आचार्य
कपिलवस्तु । मानव अधिकार एलाइन्स जिल्ला शाखा कपिलवस्तुको आठौँ अधिवेशन सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न अधिवेशनबाट थानेश्वर अधिकारी अध्यक्ष पदमा सर्वसहमत निर्वाचित भएका छन् ।

अधिवेशनबाट ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रीता थापा बोहोरा, सचिवमा पार्वती आचार्य, सहसचिवमा टुकप्रसाद अर्याल , कोषाध्यक्षमा नुर मोहम्मद मुसालमान रहेका छन् भने सदस्यहरुमा सागर पौडेल, मञ्जु भट्टराई, धनेश्वरी घर्ती, मधु पाण्डे, अजयसिंह चौधरी र रविन्द्रप्रताप सेन रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलले मानव अधिकार एलाइन्स मानव अधिकार क्षेत्रकै अग्रणी संस्था रहेको बताएका छन् । उनले यस संस्थाले मानव अधिकारको संरक्षण प्रवद्र्धन गर्न अहम् भूमिका खेल्दै आएको बताउँदै नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना ब्यक्त गरे ।

यसैगरी विशिष्ट अतिथि, नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष तथा मानव अधिकार एलाइन्स कपिलवस्तुका संस्थापक सदस्य डम्मर शर्माले मानव अधिकार एलाइन्सले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ निस्पक्ष र धाँधलीरहित बनाउन प्रभावकारी रुपमा पर्यवेक्षण गर्नुपर्ने बताए । यस संस्थामा सामाजिक संघ संस्थामा नेतृत्व गरेका अनुभवी व्यक्तिहरु रहेको हुनाले यसले हरेक व्यक्ति र समुदायका व्यक्तिहरुको वकालत गर्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा नेकपा एमाले प्रदेश समिति सदस्य तथा मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य सूर्यकुमारी शाही, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा एलाइन्स जिल्ला इन्चार्ज चेतना अधिकारी, बाणगंगा नगरपालिका कार्यपालिका सदस्य गीता भुसाललगायतले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाका सचिव थानेश्वर अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन सर्वसहमतिबाट पारित गरिएको छ । मानव अधिकार एलाइन्स कपिलवस्तुमा क्रियाशिल १८ वटा सामाजिक संघ संस्थाहरु आबद्ध रहेका छन् । कार्यक्रम मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षता, उपाध्यक्ष गीता भुषालको स्वागत तथा सचिव थानेश्वर अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।