स्वास्थ्य चौकी भवनको शिल्यानास

मेचीकाली संवाददाता

११ फाल्गुन २०७८, बुधबार
516 shares

कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं. ७ मानपुरमा स्वास्थ्य चौकी भवनको शिल्यानास गरिएको छ । नगरको दक्षिण क्षेत्रमा पर्ने मानपुरमा स्वास्थ्य चौकी नहुँदा वडाबासी अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता भएपछि स्वास्थ्य चौकी भवन निर्माणको शिल्यानास गरिएको हो ।

बुधबार एक कार्यक्रमका बीच पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य र नगर प्रमुख केशव कुमार श्रेष्ठले संयुक्त रुपमा विधि पूर्वक स्वास्थ्य चौकी भवनको शिल्यानास गरेका हुन् ।

पूर्व राज्यमन्त्री आचार्यले बर्षौ देखि मानपुर बासीको चाहना अब पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरे । साविक मानपुर गाविस समेत रहेको यस वडामा स्वास्थ्य चौकी हुनुपर्छ भन्दै स्वर्गीय वडाध्यक्ष राजेन्द्र सिंहले बनाउने पहल गरिरहेको स्मरण गर्दै सिंहको सपना अब साकार हुन लागेको पुर्व राज्यमन्त्री आचार्यले बताए ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्य चौकीको काम तोकिएकै मितिमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । चालु आवमा नगर भित्र सञ्चालन भएको योजना मध्ये यो स्वास्थ्य चौकीको भवन ठूलो भएको भन्दै अबका केही महिना पछि मानपुरबासीले स्वास्थ्य सेवा यसैबाट पाउने बताए । आफ्नो कार्यकालमा नगर भित्र स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्दै आएको बताए ।

गोरखनाथ कन्ट्रक्सन काठमाडौंबाट निर्माण हुने यो स्वास्थ्य चौकीको कूल लागत १ करोड १६ लाख रहेको छ । स्वास्थ्य चौकीको काम ०७९ असार २० गते भित्र सक्ने गरि योजना सम्झौता भएको नगरपालिकाकी इन्जिनियर निकिता त्रिपाठीले बताईन् ।

केन्द्र सरकारको विशेष अनुदानबाट स्वास्थ्य चौकी निर्माण हुन लागेको नगरका प्रशासकीय अधिकृत राजन पोख्रेलले जानकारी दिए ।