आज महाशिवरात्री पर्वः सिद्धबाबा मन्दिरमा भक्तजनको घुँइचो

मेचीकाली संवाददाता

१७ फाल्गुन २०७८, मंगलवार
720 shares

बुटवल । महाशिवरात्री पर्वको अवसरमा रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुँइचो लागेको छ । भक्तजनहरूलाई मन्दिर दर्शनका लागि बिहान २ बजेदेखि नै खुला गरिएको छ ।

शिवरात्रिको अवसर पारेर मन्दिरलाई चिटिक्क सिगारीएको छ । यो सँगै यहाँ आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको महाशिवरात्रि पूजा–२०७८ प्रचारप्रसार समिति संयोजक तथा मन्दिर व्यवस्थापन समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।
भक्तजनहरुलाई सहज होस् भनेर मन्दिर व्यवस्थापन समितिले ट्राफिक व्यवस्थापनका लागी दोभान प्रहरी चौकी, लुम्बिनी प्रदेश ट्राफीक प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफीक प्रहरी कार्यालय पाल्पासँग समन्वय गरिएको लम्सालले बताए ।

श्रद्धालु भक्तजनहरुको भिड व्यवस्थापनका लागि बिभिन्न उपसमिति बनाएर ७० जना स्वयमसेवक परिचालन गरिएको छ ।
‘यसवर्ष शिवरात्रिमा ३० हजार भन्दाबढी भक्तजनहरूले दर्शन गर्ने अनुमान गरेका छौँ । भक्तजनहरूलाई सहज रुपमा मन्दिर पु¥याउन मन्दीरको निःशुल्क धार्मीक बससँगै बुटवलको ट्राफीक चोकबाट अन्य ३ वटा माइक्रो बससमेत सञ्चालनमा ल्याएका छौँ ।’, उनले भने ।
मन्दिर परिषरमा हेल्प डेस्क, प्राथमिक उपचार केन्द्र समेत स्थापना गरिएको छ । कोरोना महामारीको जोखिम कायमै रहेकाले मन्दिर दर्शनका लागि आउने भक्तजनहरूलाई मास्क र सकेसम्म सामाजिक दूरी अनिवार्य गरिएको उनले बताए ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सहयोगमा जिल्लाभित्र उत्पादन भएका वस्तुहरु बिक्री गर्नको लागी कोशेली घर स्थापना गरिएको लम्सालले बताए । सिद्धार्थ राजमार्गको छेउमै अवस्थित यो मन्दिर प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ ।

सडकको छेउमै मन्दिर रहेको र पहाडको फेदीमा रहेकोले यहाँ ठाउँ अभाव हुने गरेको छ । मन्दिरमा पाल्पा, रूपन्देही, नवलपरासी, गुल्मी, स्याङ्जालगायतका अन्य जिल्लाहरु र भारतका विभिन्न ठाउँबाट समेत भक्तजनहरू आउने गर्दछन् । यस मन्दिरमा विशेषगरी सोमबार र शनिबार भक्तजनको घुइँचो लाग्ने गर्छ । यसवर्ष पनि मन्दिर क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायतमा लागुपदार्थ निषेध गरिएको छ ।
यसैबीच रुपन्देहीको सैनामैना स्थित स्वयम् उत्पत्तिमान पर्रोहा पर्मेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम, बुटवल–१२ स्थित मुक्तिधाम लगायतका शिवालयहरुमा पनि भक्तजनहरूको भिड लागेको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।