एमाले बुटवल उपमहानगर कमिटीको बैठक: निर्वाचन केन्द्रित परिचालन कार्यक्रम सञ्चालन गर्ने

मेचीकाली संवाददाता

१९ फाल्गुन २०७८, बिहीबार
440 shares


बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिका कमिटीको चौथो पूर्ण बैठक बुटवलमा सम्पन्न भएको छ । नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले निर्वाचन केन्द्रित पार्टी परिचालन कार्यक्रम तीब्र बनाउनेलगायतका विभिन्न निर्णय गरेको छ । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु गरेको छ । मातहात कमिटी समक्ष जानकारी एवं कार्यान्वयनका लागि परिपत्र–४ जारी गरिएको कमिटीका सचिव मेघराज भट्टराईले जानकारी दिए ।

नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले फागुन १३ गते जारी गरेको परिपत्र–१ अध्ययन गरी परिपत्रमा उल्लेखित विषयवस्तुलाई रचनात्मक तथा सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने गराउने निर्णय गरेको छ । यस्तै बुटवल उपमहानगर कमिटी अन्र्तगतका सम्पूर्ण शाखा कमिटीहरुको बैठक यहि फागुन २२ गते भित्र बसेर निर्वाचन केन्द्रित परिचालनका कार्ययोजना बनाउन निर्देशन दिने समेत निर्णय गरेको छ ।

पार्टी प्रवेश गर्नेलाई स्वागत र नयाँ पार्टी सदस्यता वितरण गर्न सकिने कमरेडहरुको सूचि बनाएर माथिल्ला कमिटीमा पेश गर्ने भएको छ । यसका लागि संकलित विवरण फागुन ३० गते भित्र नगर पार्टी कार्यालयमा बुझाउन समय तालिका तोकिएको छ । अन्य राजनीतिक दल आवद्ध व्यक्तित्व, तटस्थ रहेका सामाजिक, पेशागत तथा व्यवसायिक व्यक्तित्व र पार्टी विग्रहमा बाटो बिराएकाहरुका लागि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने निर्णय गरिएको सचिव भट्टराईले जानकारी दिए ।

पार्टी प्रवेश अभियानलार्ई व्यवस्थित बनाउन शाखामा रहनुभएका माथिल्लो कमिटीका कमरेडहरुको सहयोगमा विशेष कार्यदल बनाउने समेत निर्णय भएको छ । २०७९ बैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालनको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन यहि चैत्र ५ गते भित्र प्रत्येक शाखामा निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । साथै स्थानीय तहको निर्वाचन तयारीका सम्बन्धमा निम्न विषयहरुमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

हाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा सबल, गतिशिल र अनुशासित पार्टी निर्माण सुखी नेपाली र समृद्ध नेपालको संकल्प सहित केपी शर्मा ओली नेतृत्वको संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट भए गरेका कार्य र स्थानीय तहको निर्वाचनमा ध्यान दिनुपर्ने कानूनी, प्रक्रियागत र प्रचार तथा निर्वाचन अभियान सम्बन्धी विषयहरुलाई समेटेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरुका बीचमा शाखाहरुमा टोलस्तरमा समेत प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

उपमहानगर कमिटीका अध्यक्ष कमरेड किसन ज्ञवालीको अध्यक्षता र सचिव कमरेड मेघराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको बैठकमा पार्टीका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीका विभिन्न तहका नेताहरुको सहभागिता थियो ।