लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मानव अधिकार हननका घटना

मेचीकाली संवाददाता

२१ फाल्गुन २०७८, शनिबार
411 shares

बुटवल । लुम्बिनी प्रदेशमा देशमै सबैभन्दा बढी मानव अधिकार हनन भएको एक तथ्यांकले देखाएका छ । इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ मानव अधिकार उल्लंघनका घटनाहरु पीडितहरुले दर्ता गरेकामा लुम्बिनी प्रदेशमा मात्र १ हजार ७ सय ८६ मानव अधिकार हननका घटनाहरु दर्ता भएका छन् ।

अपहरण, गिरफतारी, कुटपिट, बाल अधिकार, हिरासतमा मृत्यु, अमानवीय व्यवहार, घाइते, हत्या, जातीय विभेद, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार, धम्की, यातना, महिला अधिकार, कारागारमा मृत्यु र बेपत्ता जस्ता घटनाहरु दर्ता भएकामध्ये लुम्बिनी प्रदेशमा मात्र १ हजार ७ सय ८६ घटनाहरु दर्ता भएको वर्ष पुस्तकामा उल्लेख गरिएको छ । मुलुकभरकै मानव अधिकार हननका घटनामा अनुपातका हिसाबले लुम्बिनी प्रदेशले मात्र २९ प्रतिशत ओगटेको छ ।

यसैगरी प्रदेशमा दर्ता भएका कुल घटनामध्ये ७२ प्रतिशत महिला अधिकार हननका घटना दर्ता भएका छन । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा शनिबार बुटवलमा लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा हिसाका घटना ठुलो संख्यामा दर्ता हुनु निक्कै गम्भिर भएको जनाइएको छ । कार्यक्रममा बोल्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उल्लंघनका हिसाबले लुम्बिनी प्रदेश अगाडि रहेको भन्दै रिपोर्टको संख्या बढ्नु भनेको आम नागरिकमा सचेतना बढ्नु पनि रहेको दाबी गरे । लुम्बिनी प्रदेशमा महिला अधिकार हननपछि बाल अधिकार हनन्को घटना दोस्रो स्थानमा रहेको उनले बताए । उनले प्रदेशका अधिकाश कारागारको अवस्था निक्कै दयनीय रहेको पनि बताए ।

लुम्बिनी प्रदेश मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदीले इन्सेकको २९ वर्षदेखि निरन्तर प्रकाशित हुने मानव अधिकार वर्ष पुस्तक एउटा महत्वपूर्ण पुस्तक भएको दाबी गरे । अधिकारको सवाल आवाज उठाउने समूह जहाँ पुग्दा पनि एउटै हुनु स्वाभाविक भएको भन्दै यसलाई चिर्दै लैजानुपर्ने बताए । प्रदेश सरकारलाई घचघचाउने काम पुस्तकको तथ्याकले गरेको दाबी गर्दै कानुनी सल्लाहकारका हैसियतले यसतर्फ काम अघि बढाउने उनले प्रतिबद्घता जनाए ।

कार्यक्रममा शान्ति समाज तथा मानव अधिकारका केन्द्रिय अध्यक्ष गोबिन्द खनालले मानव अधिकारको परिभाषालाई फरक ढंगबाट समाजमा बुझने काम भएको भन्दै ब्यवहारमा बुझाउन नसकिएको दाबी गरे । हिसाको राजनिति गरिरहेका दलहरुका कारण मानव अधिकार धरापमा रहेको उनको गुनासो छ । घर शान्ति, समाज शान्ति हुँदै देश र विश्व शान्तिको अभियानमा लाग्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रामराज पोखरेल, माईती नेपाल रुपन्देहीका अध्यक्ष माया केसी लगायतले सबै दृष्टिकोणबाट अध्ययन गरेर वास्तविकता बाहिर ल्याउनुपर्ने बताए । कार्यक्रमको सञ्चालन इन्सेक रुपन्देही सहजकर्ता विष्णु घिमिरेले गरेका थिए ।