तिलोत्तमामा बढ्दै चोरीका घटना

मेचीकाली संवाददाता

२५ फाल्गुन २०७८, बुधबार
327 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चोरीका घटना बढ्दै गएका छन् । रातीको समयमा शृङ्खलाबद्ध रुपमा चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

निर्माणाधीन घरबाट फर्निचरलगायतका अन्य सामग्रीहरुसँगै घरको गेट भित्रैबाट साइकल हराउन थालेपछि स्थानीय त्रसित बनेका हुन् । गत आइतबार राती तिलोत्तमा–८ ज्योतीनगरका अखिल सुवेदीको निर्माणाधीन घरबाट तीन थान ढोका र दुई बन्डल छड चोरी भयो । चोरले रातीको समयमा निर्माणाधीन घरको पर्खाल फोडेर ढोका, छडलगायतका सामग्रीहरु गाडीमै लोड गरेर लगेको सुवेदीले बताए ।

तिलोत्तमा–८ कै नवज्योती बोर्डिङ स्कुल नजिकै अर्को निर्माणाधीन घरबाट पनी झ्यालढोकालगायत अन्य सामग्रीहरु चोरी भएका छन् । उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि प्रहरीलाई चुनौती थपिएको छ । मंगलापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) लक्ष्मण डाँकीले स्थानीयहरुले चोरीका घटना बढेको जानकारी गराएपछि अनुसन्धान सुरु भइसकेको बताए ।

‘रातीको समयमा दुई तिनवटा निर्माणाधीन घरबाट झ्यालढोकालगायतका निर्माण सामग्रीहरु हराएको भनेर निवेदन आएको छ । जानकारी पाउनासाथ प्रहरीको बिशेष टोली परिचालन गरेर अनुसन्धान सुरु गरिरहेका छौँ ।’ उनले भने । दिउँसो भन्दा रातीको समयमा चोरीका घटना बढ्दै गएकाले रातीमा प्रहरीले गस्ती गरिरहेको डाँगीले बताए ।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगरसमेत हो । गृहमन्त्री खाँणको आफ्नै नगरमा चोरीका घटनाहरु बढिरहँदा स्थानीयहरुले चोरीमा संलग्नहरुको तत्काल खोजी गरी पक्राउ गर्न माग गरेका छन् ।