कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना रोकिँदैन : विष्णु पौडेल

मेचीकाली संवाददाता

३० फाल्गुन २०७८, सोमबार
575 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना पूरा भएरै छाड्ने बताएका छन् । आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको भन्दै उनले यो बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको बताएका हुन् ।

नेकपा एमाले बुटवलले सोमबार बुटवलमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो आयोजना बन्नेमा शंका नगर्न भनेका छन् । ‘यो आयोजना विष्णु पौडेलले देखेको सपना होइन, विष्णु पौडेलले पछ्याएको योजना हो, एमालेले पछ्याएको योजना हो । यो आयोजनाको सपना देख्ने व्यक्ति मदन भण्डारी हुनुहुन्छ,’ उनले भने, ‘जबजमा कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने पाँचौँ महाधिवेशनमा मदन भण्डारीले लेख्नुभएको छ । कालीगण्डकीको पानी तिनाउमा ल्याउँछौँ ।’

उनले आयोजनाको कार्यान्वयन कसैले रोक्न नसक्ने बताए । ‘आयोजनाको अदालतमा मुद्दा पनि परेको छ । डीपीआर सकिएको छ । केही संकीर्ण मानिसले मुद्दा पनि हालेका छन्,’ उनले भने, ‘अदालतले स्टे पनि गरेको छ । आयोजना कार्यान्वयन कसैले रोक्न सम्भव छैन ।’
राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने पौडेलले बताए । रिडी र रुद्रवेनीको बीचमा २५०० मेगावाटको जलाशययुक्त निर्माण हुने उनको भनाइ छ । अरू ठूला आयोजना पनि कार्यान्वयन हुने पौडेलले बताए । पौडेलले एमाले नेतृत्वको सरकारले राष्ट्रिय राजमार्गमा बनाउन अगाडि सारेका १० वटा पुलमध्ये ८ वटा अहिलेको सरकारले हटाएको बताएका छन् ।

कोशी, भालुवाङ, मुग्लिनका महत्वपूर्ण ठाउँमा बन्ने पुलमध्ये एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले हटाएको उनले आरोप लगाए । विश्व बैंकको लगानीमा तिनाउमा ‘सिग्नेचर’ पुल बन्ने उनको भनाइ छ । तिनाउ–दानव करिडोरमा पर्ने वस्तीका विस्थापितलाई उचित रुपमा सम्बोधन गर्ने बताए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताए ।

पौडेलले बर्तमान सरकारले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास योजनाहरु अवरुद्ध हुने गरी बजेट रोकेर बिकास बिरोधी काम गरेको आरोप लगाए । बुटवल नगर कमिटी अध्यक्ष किसन ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नु आजको आवश्यकता रहेको बताए ।

‘ज्ञवालीले आगामी निर्वाचनमा एमालेका कार्यकर्ताहरुको मुख्य दायित्वबारे जानकारी दिँदै बिवाद र अलमलमा नपर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे । कहिले काही कसैले भ्रम छर्न सक्छन निर्वाचनका मुखमा मतदातालाई झुक्याउन सक्छन त्यसलाई चिर्नु एमाले कार्यकर्ताको दायित्व हो’ ज्ञवालीले भने ।