१२ औं कपिलवस्तु महोत्सवको तयारी पुरा

मेचीकाली संवाददाता

२ चैत्र २०७८, बुधबार
532 shares

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी सम्पन्न भएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गते सम्म बाणगंगा स्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो ।

महोत्सवको सतप्रतिशत काम सम्पन्न भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । महोत्सवको भोलि विहिबार गृहमन्त्री बालकृष्ण खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिए । जसका लागी गृहमन्त्री खाँण दिउँसो १ बजे महोत्सव स्थलमा आउने छन् ।

उनले गृहमन्त्री खाँण आउने भएपछि शान्ति सुरक्षाका लागी विभिन्न सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयसंग समन्वय भईरहेको बताए । महोत्सवका संयोजक समेत रहनु भएका अध्यक्ष घिमिरेले आज महोत्सवको विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीसंग संयुक्त छलफल गरिएको बताए । त्यस क्रममा विभिन्न शान्ति सुरक्षा, दर्शकको व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयमा छलफल भएको उनले बताए ।

अध्यक्ष घिमिरेले सबैबाट प्राप्त सल्लाह सुझावलाई आत्मासाथ गर्दै महोत्सवलाई सभ्य तवरबाट सम्पन्न गर्न आयोजक प्रतिवद्ध रहेको जानकरी दिए । महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम, स्टलको काम, सचिवालय निर्माण, प्रवेशद्धार, स्टेज निर्माण लगायतका काम सम्पन्न भएको कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले जानकारी दिए । महोत्सवको प्रवेशद्धारमा निर्माण गरिएको ५२ फिटको मिनी बुर्ज खलिफाले अहिले देशभरको ध्यान नै कपिलवस्तुतर्फ केन्द्रित भएको उनले बताए ।

यस्तै महोत्सव स्थलमा गौतम बुद्ध, शिवको मूर्ति र गुम्बा निर्माणको काम सकिएर रंङरोगनको काम समेत सकिएको निर्देशक रेस्मीले बताए । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।