‘शुद्ध पिउने पानी नै मानवको जीवन हो’

मेचीकाली संवाददाता

८ चैत्र २०७८, मंगलवार
354 shares

पार्वती आचार्य
कपिलवस्तु । मानव जीवनका लागि शुद्ध पिउने पानीको महत्वलाई आम नागरिकले बुझ्न आवश्यक देखिएको बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताएका छन् । प्राकृतिकले निशुल्क रुपमा दिएको अमुल्य चिजलाई संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउँदै शुद्ध पिउने पानी नै मानवको जिवन भएको बताए । भूमिगत जलश्रोतको संरक्षण र सदुपयोग गरौं भन्ने मुलनाराका साथ सम्पन्न बिश्व पानी दिवसको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपमेयर अर्यालले सो कुरा बताएका हुन् ।

यसैगरी प्रत्येक वर्ष पानीका मुहानहरु सुक्दै गइरहेको हुँदा जल स्रोतलाई संरक्षण गर्न सबै लाग्न जरुरी देखिएको बताए । राज्यको पोलिसीअनुसार प्रदेश सरकारले एक घर एक धाराको अवधारणा ल्याएको छ । यस नगरपालिकाले वासको कार्यबिधि निती बनाएर रणनिती योजनाहरु निर्माण गरेको हुँदा नगरपालिकाले केही बर्ष भित्र नगरवासीहरुलाई शुद्ध पिउने पानी वितरण गर्ने लक्ष रहेको बताए ।
कार्यक्रममा खानेपानी डिभिजन कार्यालय कपिलवस्तुकी प्रमुख कमल पन्तले जथाभावि उत्खननले गर्दा पानी जमिनको तल्लो सतहसम्म पुग्न नपाउने, पानी बाहिर बगेर गैरहँदा पछिल्लो समय पानीका मुहानहरु सुक्दै आएको बताए । जलस्रोतलाई बृद्धि गर्न चुरेक्षेत्रलाई संरक्षण गर्न आवश्यक देखिएको छ चुरे क्षेत्रलाई संरक्षण गर्न नसके पानीको लागि ठुलो समस्या हुने बताए । चुरे संरक्षणका लागि तिन तहका सरकार, विभिन्न संघ संस्थाहरु आआफ्नो क्षेत्रबाट लाग्न जरुरी देखिएको उनको भनाइ छ ।

यस्तै वडा नं. ९ का वडा अध्यक्ष एवं वासका नगर संयोजक धु्रव बेल्वासेले शुद्ध पिउने पानीलाई शुद्धिकरणका लागि नगरपालिकाले योजना बनाएर कार्यहरुलाई अगाडी बढाउँदै आएको बताए । यस नगरपालिका भित्र २१ वटा खानेपानी उपभोक्ता समितीहरु गठन गरी खानेपानी आयोजनाहरु सञ्चालन गरिएको छ भने नगरवासीहरुलाई खानेपानीको बिस्तार गरिँदै आएको बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले मानव जिवनका लागि शुद्ध पिउने पानी महत्वपूर्ण भएको बताए । उनले ८० प्रतिशत रोगहरु शुद्ध पिउने पानीबाट निको हुने भएको हुँदा सबैलाई शुद्ध पानी पिउन आग्रह गरे । स्रोत व्यवस्थापन प्रालि वालिङ–१० स्याङ्जाका कृष्ण भण्डारीले एकिकृत नगरजन्य फोहोर मैलाव्यवस्थापनको संक्षिप्त परिचय, विधि र प्रक्रियालगायतको विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षतामा महासंघका उपाध्यक्ष राधिका पन्थको स्वागत तथ सचिव चेतनारायण भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका वडा नं. १ का वडा सदस्य झलकबहादुर मल्ल ठकुरी, शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई , प्रशासन शाखा अधिकृत केशवराज भट्टराई, कपिलबस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकप्रसाद घिमिरे, संचारिका समूहका जिल्ला अध्यक्ष पार्वती आचार्य, उपभोक्ता महासंघ जिल्ला शाखाका पदाधिकारीहरु, बाणगंगा नगरपालिकाभित्रका खोनेपानी उपभोक्ता समितीका पदाधिकारीहरु, इकाइ समितीका पदाधिकारीहरु बिभिन्न संघ संस्थाका प्रतिनिधी संचारकर्मीलगायतको सहभागिता रहेको थियो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा ४ नं चोकदेखी प्लेकार्डसहितको ¥याली बजार हुँदै कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।