लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

मेचीकाली संवाददाता

१३ चैत्र २०७८, आईतवार
594 shares

काठमाडौं । कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठानको विद्युत् आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टशेन आज एकैसाथ उद्घाटन गरिएको छ ।

सो प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा सहज विद्युत् आपूर्ति हुने तथा विद्युत्को प्राविधिक चुहावट पनि कम हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट ९केभी० क्षमताको डबल सर्किट प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो । सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी क्षमताको सबस्टेशन पनि सञ्चालन आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शनिबार सन्धिखर्कमा आयोजित एक समारोहमा प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरिन् ।

प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ । हाल बुटवलबाट ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सो प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या थियो भने प्राविधिक चुहावट पनि उत्तिकै थियो ।

कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएकाले यस क्षेत्रमा विद्युत् आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताइन् ।

यस भेगका उपभोक्ताले झ्याप्प–झ्याप्प बत्ती गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकाले बत्ती बाल्न मात्रै नभई खाना पकाउन पनि विद्युत् प्रयोग गर्न आग्रह गरिन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत् पुर्‍याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रूपमा अगाडि बढाइएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, शीतगङ्गा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकललगायतले प्रसारण लाइन र सबस्टेशनको सञ्चालनपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ स्थित १३२ केभीको मोतीपुर सबस्टेशनबाट सुरु भई अर्घाखाँचीको शीतगङ्गा नगरपालिका हुँदै ३८ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेशनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ टावर निर्माण गरिएको छ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेशनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेशनको यही चैत ३ चैतमा उद्घाटन गरिएको थियो ।

मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टिल जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब रु ७० करोड छ ।

सन्धिखर्कमा १३२र३३ केभी, ३० एमभिए र ३३र११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेशनबाट चारवटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर तथा ठाडा सबस्टेशन र तीनवटा ११ केभीका फिडरबाट विद्युत् वितरण गरिएको छ ।

विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दूरीको ३३ केभीबाट विद्युत् आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकामा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।

उनले प्रसारण लाइन र सबस्टेशनको निर्माणपछि प्राविधिक चुहावटमा कमी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताए । सन्धिखर्क सबस्टेशन निर्माणका लागि २०७५ को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेशनको अनुमानित लागत करिब रु ३७ करोड छ ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र बाग्लुङको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन तथा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना आयोजनाको निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् । ती सबस्टेशनसमेत छिट्टै निर्माण सम्पन्न हुने जनाइएको छ ।