कांग्रेसले बैशाखीको साहारा खोज्यो : अध्यक्ष ओली

मेचीकाली संवाददाता

१४ चैत्र २०७८, सोमबार
421 shares

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन भन्दै नेपाली कांग्रेसले अन्य दलसँग वैशाखी टेकेको बताएका छन् । कुनै बेला कांग्रेस साढे गोरु जस्तो रहेको भन्दै अहिले सरकार टिकाउन गठबन्धन गरेको आरोप लगाए ।

कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालका सबै दलहरू मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरे । अब कपिलवस्तु जिल्ला नेकपा एमालेको किल्ला भएको भन्दै सबै घर एमालेमय हुने बताए । एमाले कपिलवस्तुमा बाढीको रूपमा प्रवेश गरेको बताउँदै सबैले घरघर देखि विकास गर्नुपर्ने भएकोले सबै एमाले बन्नुपर्ने बताए । मुलुकमा विकास गर्नको लागि एमालेले जित्नुपर्ने भन्दै एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने बताए ।

शिक्षा,स्वास्थ्य,कृषि लगायत विमानस्थलहरू निर्माणको काम आफ्नो पालामा भएको दाबी गरे । जिल्ला औद्योगिक हिसाब उपयुक्त रहेको भन्दै औद्योगिक क्षेत्रको रूपमा विकास गर्न जरुरी रहेको बताए । कपिलवस्तु नजिकै रहेको राप्ती नदी बाट डाइभर्सन गरी पानी ल्याउन सकेमा सिचाई को समस्या हट्ने बताए ।

कपिलवस्तुमा विभिन्न समयमा सामाजिक सद्भाव बिगार्ने तत्त्वहरू लागिपर्ने भएकोले त्यसमा स्थानीयहरू सजग हुनुपर्ने बताए । ‘यहाँ कहिले मधेसी पहाडी,कहिले हिन्दु मुस्लिम भनेर दङ्गा हुने गर्दछ’ ओलीले भने । ‘सामाजिक सद्भाव खलल पर्ने तत्त्वलाई समाज वाट बहिस्कार गर्नुपर्छ, ।’ कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको जितालाई कसैले रोक्न नसक्ने बताए ।
एमाले प्रवेशपछि बोल्दै प्रतिनिधि सभा सदस्य सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्ता सहित प्रवेश गरेको बताए ।

दुई प्रभावशाली नेता एमालेमा प्रवेश
कपिलवस्तुका दुई शक्तिशाली नेता एमालेमा प्रवेश गरेका छन् । हृदयेश त्रिपाठीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूहमा रहेका पूर्वमन्त्री द्वय वृजेश कुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्तवले त्रिपाठी समूह छाडेर एमाले रोजेका हुन् ।
गुप्ता प्रतिनिधिसभा सदस्य र श्रीवास्तव प्रदेशसभा सदस्य हुन् । दुवै नेता सहित हजारौं कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार एमालेमा भित्र्याए ।

गुप्ताले २०७० को निर्वाचन तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट जितेका थिए । सूर्य चिन्ह लिएर चुनाव जिते पनि स्वतन्त्र सांसदका रुपमा रहेका कपिलवस्तुका घरानियाँ प्रभावशाली राजनीतिक व्यक्तिहरु रहेको एमाले कपिलवस्तुका इन्चार्ज बलराम अधिकारीले जानकारी दिए ।
दुई जना पूर्वमन्त्री पनि हुन् । गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा प्रतिनिधि सभामा विजयी भएका थिए । नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३ हजार ५८१ मतान्तरले पराजित गरेर उनी चर्चामा आएका थिए ।
गुप्ताले कुल ३५ हजार १२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट उनले कपिलवस्तु क्षेत्र नम्बर २ बाट गुप्ता सूर्य चिन्ह लिएर चुनाव लडेर विजयी भएका थिए । योसँगै उनी कपिलवस्तुबाटै चौथो पटक सांसद निर्वाचित भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका उनी २०५६ सालमा राप्रपाबाट निर्वाचित भएका थिए । मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेर निरन्तर राजनीतिमा रहेका उनी सोही पार्टीबाट पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर २०६१ सालमा भौतिक निर्माण मन्त्री र २०६९ साल कानुनमन्त्री बनेका थिए ।
गत मंसिरमा सांसद् हृदयेश त्रिपाठीले नेतृत्वमा गठन भएको जनता प्रगतिशील पार्टीमा गुप्ता रहेका थिए । त्रिपाठी पनि २०७४ को निर्वाचनमा चुनाव चिह्न सूर्य लिएर विजयी भएका हुन् ।

उनी सूर्य चिन्ह लिएर प्रतिनिधिसभामा नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । गुप्तासँगै एमालेमा आउन लागेका प्रदेश सभातर्फ धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ निर्वाचित भएका थिए । लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्ने समयमा उनी मन्त्री बनेका थिए । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै कपिलवस्तुमा दल अदलबदल तीब्र रुपमा चलेको छ ।