वनबाटिकामा बन्यो ११ करोडको बहुउद्देश्यीय टावर

भूमिहीनमाथि सरकारले प्रहार ग¥यो : ओली

मेचीकाली संवाददाता

१७ चैत्र २०७८, बिहीबार
512 shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो ।

वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । टावरको मंगलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । टावरमा होटल, रेष्टुरेन्ट, कफिशप, डिपार्टमेन्टल स्टोर, लाइब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दूरदृश्यावलोकन सेवासमेत उपलब्ध हुनेछ । टावर सञ्चालनको लागि तिलोत्तमा नगरपालिकाले लिज करार प्रक्रिया अघि बढाएको छ ।

एघारतले टावर १ सय ३४ फिट उचाइको छ । टावरको २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता स्वा. बलदेव शर्मा पोखरेलले शिलन्यास गरेका थिए । काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको छ । नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत ११ करोड ४५ लाख रहेको छ ।

टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचनासमेत निर्माण हुनेछन् । लिफ्ट सुविधासहित बनेको टावरसँगै दुई विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू निर्माणको काम धमाधम अघि बढेको छ । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिँदै छ ।
त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको नगरपालिकाका इञ्जिनियर प्रदीप बनले बताए । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरबिनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने जनाइएको छ ।

टावरको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले एमालेले सरकारको नेतृत्व गरेको समयमा विकास निर्माण, सामाजिक सशक्तिकरणका विभिन्न कार्यक्रम अघि बढाएको बताए । भूमिहीनलाई पूर्जा दिन एमाले नेतृत्वको सरकारले काम अघि बढाएको बेला वर्तमान सरकारले त्यसमाथि पहिलो प्रहार गरेको बताउँदै उनले भने,‘भूमिहिनलाई लालपूर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन्, अघिल्लो सरकारले फाइल लुकायो भनेर’, ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान्, चुनावमा ख्याल गर्नुस् ।’

मन्तव्यको अधिकांश समय स्वास्थ्य, शिक्षा, पर्यटन विकासका योजना तथा तिलोत्तमा नगरपालिकाले गरेका नमुना कामको प्रशंसा गरेका एमाले अध्यक्ष ओलीले नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिए । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उनले भान्सालाई औषधालयको रुपमा विकास गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

लुम्बिनी सबैको आँखामा पर्ने स्थान रहेको र त्यसको प्रवद्र्धनका लागि तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै उनले यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गरे । उपलब्ध स्रोत साधनलाई नयाँपन र राम्रो बनाए पर्यटन प्रवद्र्धन गर्न सकिने पूर्वप्रधानमन्त्री ओलीको भनाइ छ । आफ्नै जीवनकालमा आफैसँग भएका स्रोतसाधन प्रयोग गरे विकासको लहर बनाउनुपर्ने भन्दै ओलीले भने,‘हिमाललाई हामीले फोहोर नगरे मात्र हुन्छ, अब हाम्रो भान्सामा विषादियुक्त खाना नपुगोस्, भन्ने अठोट गर्नुहोस् अब यसमा ध्यान दिऔं, चिन्तनमै फरक ल्यायौं भने हामीले सुरु गरेका विकासका कामबाट केही समयमै देश कायापलट हुन्छ ।’

नगरप्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताए । नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् ।
पूर्वउपप्रधानमन्त्री एवं संघीय सांसद विष्णुप्रसाद पौडेल, राष्ट्रियसभाका सदस्य गोपाल भट्टराई, पूर्वमन्त्री एवं प्रदेश सांसद लिला गिरीलगायत प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रमको अवसरमा तिलोत्तमा दर्पण नामक पुस्तक, डकुमेन्ट्री, गीतको विमोचनसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रवक्ता सुरेन्द्र श्रीले गरेका थिए ।