गठबन्धनको पटकाले एमाले तर्सिँदैन: उपाध्यक्ष पौडेल

मेचीकाली संवाददाता

१७ चैत्र २०७८, बिहीबार
349 shares

बुटवल, । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावका नाममा कसैले पटका पड्काउँदैमा एमाले नर्तसिने बताएका छन् । चुनावमा एमालेका लागि गठबन्धन कुनै नयाँ कुरा भएको नभई जति दल मिलेर गठबन्धन गरे पनि त्यसले कुनै फरक नपर्ने बताए ।

देशको ‘ड्राइभिङ लिड’ गर्ने पार्टी एमाले रहेकोको बताउँदै उनले कसैले त्रसाउन पटका पडकाउँदैमा विशाल जनआधार भएको पार्टीले केही तत्विक असर नपर्ने पौडेलले दावी गरे । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने संकेत गरेका छन् । एमालेले एक्लै चुनावमा गएर बहुमत हासिल गर्ने उनले बताए ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले गत निर्वाचनभन्दा यस पटकको निर्वाचनमा गुणात्मक सफलता हात पार्ने बताए । एमालेले मात्रै विकासको मोडल तयार पार्न सक्ने उल्लेख गरे । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा भएको सात अर्ब टेण्डर रद्दको विवादमा मुछिएका व्यक्तिमाथि यथार्थ छानबिन गरी दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।
गौरवको आयोजनामा राखेर गर्न खोजिएको आयोजनालाई गिद्देदृष्टि लगाएर कमाउन र रोक्न खोजिएको बताउँदै यसको निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्ने बताएका हुन् ।
‘कतै यो आयोजनालाई नै ओझेलमा पार्ने गरी यस्ता काम भएका छन् कि ? राजीनामा दिनुभएका सीइओको दोषी भनेर भनिसक्नुभएको छ, यस्तो अवस्थामा जिम्मेवारीमा भएका जनप्रतिनिधि जवाफदेही हुनुपर्छ, यसलाई एमालेले गम्भीरका साथ लिएको छ’, उनले भने, ‘एमालेले ल्याएको विकासको रोल मोडललाई रोक्न यस्ता गतिविधि आएका हुनसक्छन्, अब पारदर्शी ढंगले कसरी अगाडि बढाउने दबाब दिन आवश्यक छ ।’

एमालेले गरेका ठूलाठूला विकास निर्माणका कामहरुलाई जनतामा ल्याउन उनले सञ्चारकर्मीहरुलाई आग्रहसमेत गरे । एमालेविरुद्ध मिडियाको तागत प्रयोग भैरहेको बताउँदै उनले यसविरुद्ध प्रतिरक्षा गर्नेगरी कलम चलाउन प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरुई आग्रह गरे ।
कर्यक्रममा प्रेस चौतारीको केन्द्रीय सचिवमा निर्वाचित प्रदिप आचार्य, केन्द्रीय सदस्यहरु अमृत गिरी, मिलन गाहा, अमृता अनमोल, नवराज कुँवर, युवराज पाण्डे, साबि रसाइली तथा दिपु पोखरेललाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित निरु गौतम, गोविन्द घर्ती, सच्यनारायण मानन्धर, शान्ती बिक, माधव न्यौपाने, शसी पन्थी, कृष्ण खनाल, मनिष पन्थ तथा मोहन ठाकुरलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी केन्द्रीय सचिव प्रदिप आचार्यले सशक्त र निस्पक्ष भएर कलम चलाउनुका साथै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई थप सशक्त बनउने गरी कलम चलाउन आग गरे । प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्षमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती पाण्डेले स्वागत गरेकी थिइन् भने सचिव केशव भण्डारीले सञ्चालन गरेका थिए ।