सिलाइकटाई तालिम समापन

मेचीकाली संवाददाता

१७ चैत्र २०७८, बिहीबार
490 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ खडवा बनगाई सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित आधारभूत तथा एडभान्स सिलाइकटाई तालिम समापन भएको छ । भने, व्युटी पार्लर तालिमको उद्घाटन गरिएको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले सिकाई केन्द्रबाट सिकाईएका सिपलाइ व्यवहारमा नल्याइएकोमा दुःख व्यक्त गर्दै सिपको सदुपयोग गर्नुपर्ने बताए । त्यसका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले सामुदायिक सिकाई केन्द्रले गरेको कार्य धेरै राम्रो गर्दै आएकोमा संस्थालाई धन्यवाद दिँदै सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उपाध्यक्ष शान्तादेवी ज्ञवालीले सिकेको सिपलाई निरन्तरताका साथ लाग्नुपर्नेमा जोड दिइन् ।

उक्त कार्यक्रममा तालिममा रहेको महिलाहरूलाई प्रमाणपत्र दिएर सम्मानित गरिएको थियो । शुद्धोधन गाउँपालिका वडा नं २ को कार्यालय र खडवा बनगाई सामुदायिक सिकाई केन्द्र र कोरिया नेपाल प्रविधिक शिक्षालय तामनगर रुपन्देहीको सहयोगमा चैत को २० गतेदेखि व्युटीपार्लर तालिम सुरु हुने संस्थाका अध्यक्ष उमाकान्त चापागाईंले जानकारी दिए ।

कार्यक्रममा सिकाई केन्द्रका अध्यक्ष उमाकान्त चापागाईंको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई, गाउँपालिका २ का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालको विशिष्ट आतिथ्यता रहेको थियो । संस्थाका सदस्य नगेन्द्र ददुवाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।