भगवान बुद्धको शान्ती र अहिंशाको संदेश संसारभर फैलाउन जरुरी ः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

मेचीकाली संवाददाता

१८ चैत्र २०७८, शुक्रबार
313 shares


नेत्र गैरे
पाल्पा । तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच पाँच बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही र स्पेनको कासेरस सहरस्थित लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


पाल्पाको ऐतिहासिक शहर तानसेन र स्पेनको कासेरस शहरबीच चालिआएको संस्कृति तथा परम्परा आदानप्रदान गर्ने, दुई पालिकाबीच कृषि, प्रविधि, स्वास्थ्य र परम्परागत ज्ञान आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । यसैगरी समझदारीपत्रमा तानसेन र स्पेनको कासेरस शहरले एक अर्काको पर्यटन प्रर्वद्धन गर्ने, कासेरस शहरलाई अन्तर्राष्ट्रिय रुपमा मानव शान्ति र सम्पदाको शहरको रुपमा प्रर्वद्धन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बौद्ध धर्मका मुख्य सिद्धान्त शान्ति, मैत्री, अहिंसा, दया र करुणाको प्रर्वद्धन गर्ने, असमानता र द्वन्द्वलाई निरुत्साहित गर्ने समझदारीमा रहेको लुम्बिनी फाउन्डेसनका महासचिव एकराज गिरीले बताए । गिरीले यस अभियानमा अब तानसेन नगरपालिका साथै लुम्बिनी वरीपरीका अन्य पालिकाहरु संग समेत सहकार्य गरिएको बताए ।


समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले यो समझदारीले आर्थिक विकास, मानवीय विकाससँगै अन्तर्राष्ट्रिय मानचित्रमा नेपाललाई चिनाउन जरुरी रहेको बताए । उनले सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारभर चिनाउन जरुरी रहेको बताए । उनले हतियारले कहिल्लै शान्ती नहुने हुँदा भगवान बुद्धको शान्ती र अहिंशाको संदेश संसारभर फैलाउन जरुरी रहेको बताए ।


राष्ट्रिय सभाका सदस्य राजेन्द्र लक्ष्मी गैरेले तानसेनसँगको स्पेनको फाउन्डेसनको साझेदारीले पर्यटकीय क्षेत्रमा फाइदा पुग्नुका साथै पाल्पाका सांस्कृतिक धरोहरहरुलाई लुम्बिनी मार्फत संसारमै परिचित गराउन सहयोग पुग्ने बताइन् ।


समझदारीपत्रमा हस्ताक्षर गदै तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले शान्ती बिनाको समृद्धि अधुरो रहने हुँदा मानव संस्कृतिलाई बचाउन बुद्ध सन्देश आवस्यक रहेको बताए ।


प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बुद्धको जन्मस्थल, अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बिशाल बुद्धको मूर्तिका साथै त्यससँग सम्बन्धित भएर तानसेन नगरपालिका पनि बुद्ध सर्किटमै जोडिएको र यस मार्फत तानसेनमा सहयोग र प्रविधी भित्रयाउने लक्ष्य रहेको बताए ।