दानव नदीमा डुबेर एकै घरका दिदीभाईको मृत्यु

मेचीकाली संवाददाता

१८ चैत्र २०७८, शुक्रबार
526 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ सिसवाका एकै घरका दुई जना बालबालिकाको दानव नदीमा डुबेर मृत्यु भएको छ ।
बिहीबार शुद्धोधन र गैडहवा गाउँपालिकाको सिमानामा पर्ने दानव नदीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा शुद्धोधन–७ सिसवा निवासी लालजि केवटका छोराछोरी ९ वर्षीया करिमा केवट र ७ वर्षीय रामु केवट रहेका छन् । दुई दिदीभाई भैंसी चराउन गएको बेलामा दुबै दिदीभाई र अन्य सानासाना दुई बालक मिली नदीमा नुहाउन गएको बुझिएको छ । भाई नदिको गहिराइमा गएपछि दिदीले भाइलाई बचाउने क्रममा दिदी पनि डुबेको खुलेको छ ।

सँगै रहेको अरु दुई बालकले गुहार गरेपछि स्थानीयले गम्भीर अबस्थामा उद्दार गरेका थिए । उद्दार पछि उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा अस्पतालले दुबैजनालाई मृत घोषणा गरेको थियो । बालबालिकाका बुबा रोजगारीको क्रममा मलेसियामा रहेका छन् ।