

रमेश पराजुली
बुटवल । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरी छनौटको काम धमाधम भइरहेको छ ।
गत मंगलबारदेखि भैरहवा स्थित संघीय प्रहरी ईकाई कार्यलयमा म्यादी प्रहरीका लागि छनौटको प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका पवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बन्नका लागि जिल्लामा ९ हजार ४२४ जनाले आवेदन दिएका छन् । जसमध्ये १ हजार ५७९ जना महिला रहेका छन् ।
रुपन्देहीमा २ हजार ५२१ जना जना म्यादी प्रहरी माग गरिएको छ । ७०४ वटा मतदान केन्द्र निर्धारण भएको रुपन्देहीमा १६ वटा स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी खटाइने प्रहरी पवक्ता पौडेलले बताए । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता विधि अपनाइने उनले बताए ।
शुक्रबारबाट शारीरिक तन्दुरुस्ती तथा प्रारम्भिक स्वास्थ्य परीक्षणको काम सकिएको छ । स्वास्थ्य परीक्षणमा सफल उम्मेदवारलाई शनिबार लिखित परीक्षा हुने छ । लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने छ । छनौट पक्रियामा सफल भएका उम्मेदवारको अन्तिम नतिजा चैत २२ मा प्रकाशन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीका लागि छनौट भएका उम्मेदवारहरूलाई १५ दिन तालिम दिएर निर्वाचनका लागि प्रहरीको सहयोगीका रूपमा मतदानस्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइने प्रहरी पवक्ता पौडेलले बताए ।
म्यादी प्रहरीले पारिश्रमिकमध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, खाद्यान्नवापत सात हजार २ सय, पोशाक र अन्य खर्च ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइनेछ ।








