महामारीमा निरन्तर सावधानी जरुरी

मेचीकाली संवाददाता

१३ श्रावण २०७८, बुधबार
387 shares

कोरोना भाइरसको महामारीबाट विश्वभरको जनजीवन प्रभावित र प्रताडित छ । विकसित भनिएका देश नै रोकथाम, परीक्षण र बिरामीको अस्पतालीकरणमा असफलजस्तै देखिएका बेलामा नेपालमा भने सरकारले प्रभावकारी काम गरिरहेको छ । यद्यपि आलोचना गर्नेहरुका पूर्वाग्रह मिश्रित टिप्पणी भने भइरहेका छन् । उच्च सर्तकताका साथै पूरै देशमा महामारीविरुद्धको अभियान जारी छ । पछिल्ला केही दिन यता संक्रमणको दर केही कम त भएको छ तर जोखिम भने उत्तिकै छ ।

अहिलेको दोस्रो लहरले युवा तथा बयस्क उमेर समूहकालाई सतायो भने अब आउने चौथो लहरले बालबालिकालाई सताउने जोखिम रहेको बताइएको छ । यस हिसाबले पनि अबको केही समय उच्च सावधानी र सतर्कता भने अपनाउन जरुरी छ । यो कोरोना भाइरसको महामारी अझै केही समयसम्म रुप फेर्दै सताउँदै गर्ने भनेर विज्ञहरुले बताइरहेका छन् । यसलाई परास्त गर्ने भनेको उच्च सावधानी, होसियारी र स्वास्थ्य मापदण्डको पालना गर्नु हो ।

कोरोनाको कहरले विश्व मानव समुदायका साथै नेपालका हामीलाई पनि केही महत्वपूर्ण पाठ सिकाएको छ । दैनिकी नै बदलिने र संकट निम्त्याउने गरी महामारीले सताएको छ । यातायातका साधन त्यत्तिकै थन्किएका छन् । व्यापार व्यवसाय सबै प्रभावित भएको छ । यो बेलामा सबैका घरमा समस्या उत्पन्न भएको छ । यसलाई परास्त गर्नका लागि हामी सबैले सावधानी अपनाउन जरुरी छ । सरकारले मात्रै यसमा सबथोक गर्न सक्दैन । जबसम्म हामी सबैमा सावधानी र स्वास्थ्य मापदण्डको पालना गर्न सक्दैनौँ तबसम्म महामारीले हामीलाई सताउने नै छ ।

यो महामारीको सामना गर्नका लागि हामी सबैले मापदण्डको पालना गर्ने, सावधानी अपनाउने र स्वास्थ्य सुरक्षाका सबै उपाय अबलम्बन गर्नुपर्ने छ । कुनै पनि बेला लापरबाही र हेल्चेक्र्याइँ गर्ने छुट छैन । आफू, आफ्नो परिवार, टोलसमाज हुँदै सिंगो मुलुकलाई महामारीबाट मुक्त गर्नका लागि हामी सबैले स्वनियमको पालना गर्नुपर्ने छ । अहिले खोपको व्यवस्था गर्नेतर्फ सरकार केन्द्रित रहेको छ । सबै उमेर समूहका सबै नागरिकलाई खोपको व्यवस्था मिलाउने काममा अब ढिलाई नहोस् । सबैलाई खोपको प्रवन्ध मिलाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने छ । जबसम्म सबैलाई खोपको प्रबन्ध हुँदैन तबसम्म जोखिम झन् बढ्ने छ ।