

नेत्र गैरे
तानसेन । पाल्पाको पर्यटकिय स्थल रानीमहल दरबार क्षेत्रमा चैत्र २४ गतेदेखि २६ गतेसम्म राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता हुने भएको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना र राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकी किनार रानीमहलको बगरमा प्रथम सञ्जय स्मृति महिला बिच भलिबल प्रतियोगिता हुन लागेको आयोजक सस्थाले जनाएको छ ।
तानसेनमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी गराइएको छ । प्रतियोगितामा सातै प्रदेश, नेपाल पुलिस, शसस्त्र प्रहरीका १९ जना महिला खेलाडीको सहभागितामा हुने र खेलको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले बताईन् । बिच भलिबल प्रतियोगिता खेल लिग कम नकआउटका आधारमा खेलिने उनले बताईन ।
खेल प्रतियोगिता सम्पन्न गर्नकालागि संघिय युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, नेपाल भलिबल संघ, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका लगायतका संघ सस्थाहरुको सहयोग रहेको जानकारी गराइएको थियो । खेल समयमा आउन जानकालागि तानसेन बसपार्क देखि यात्रु भाडादरमा जीप भ्यानको व्यवस्था साथै सनराइज टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको समेत व्यबस्था मिलाईएको आयोजक सस्थाले जानकारी गराएको छ ।
बिच महिला भलिबल प्रयोगितामा प्रथम पुरस्कार नगद १ लाख, दोस्रो पुरस्कार नगद ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीका लागि नगद २० हजार रुपैयाँ राखिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ । उक्त प्रतियोगिताको संयोजन खेलकुद पत्रकार मञ्च पाल्पाले गरेको मञ्चका अध्यक्ष माधव अर्यालले बताए ।