घरेलुको आयोजनामा दौरा सुरुवाल कोट उत्पादन तालिम सम्पन्न

मेचीकाली संवाददाता

१ बैशाख २०७९, बिहीबार
443 shares


तुलसीराम पौडेल
रुपन्देही , बैशाख १
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आ ब २०७८।७९ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार भगत सर्वजित सीप विकास प्रवर्द्धन कार्यक्रम अन्तर्गत बुटवल ९ रुपन्देहीमा संचालित तयारी पोसाक र दौरा सुरुवाल र कोट उत्पादन तालिमको बिहीबार समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख उपसचिव राम प्रसाद ज्ञवालीको अध्यक्षता र सिद्धार्थ पोलिटेक्निक कलेजका निर्देशक अर्विन आचार्यको प्रमुख आतिथ्यतामा संचालित उक्त समापन समारोहमा तालिमका प्रशिक्षक द्वय भिम बहादुर दर्जी लखमान र प्रताप परियार अतिथिको रुपमा रहेका थिए ।

समापन समारोहमा बोल्दै तालिमका प्रशिक्षक भिम बहादुर दर्जी लखमानले दुई महिनाको अवधिमा तालिममा सहभागीले अपेक्षा गरेभन्दा बढि उपलब्धी हाँसिल गरेको बताए । इक्षा र आवश्यकताले मानिसलाई सिकाइमा ठूलो योगदान गर्ने हुनाले रुपन्देहीमा कोट र दौरा सुरुवाल सिलाउने तालिम संचालन हुनु आफैमा महत्वपूर्ण कुरा हो । यसले व्यवसायीको व्यवसायिक दक्षता अभिबृद्धि भएको मात्र नभई आय आर्जनमा समेत सकारात्मक सुधार आउन सक्ने कुरा निश्चित रहेको कुरा प्रशिक्षक लखमानले बताए ।
समारोहमा बोल्दै अर्का प्रशिक्षक प्रताप परियारले यो तालिम घरेलु तथा साना उद्योग कार्यालयको गौरवको तालिम भएको बताए । उनले सिलाइकटाइका आधारभुत तालिम स्थानीय तहहरुबाट पनि हुदै आएकोमा घरेलु कार्यालयले रुपन्देहीमै पहिलोपल्ट दौरा सुरुवाल र कोट उत्पादन सम्बन्धी यस किसिमको तालिम प्रदान गरेकोमा कामका लागि विदेश जान चाहिरहेका युवा पिंढी समेत अव स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास लिएको बताए ।प्रशिक्षक परियारले औपचारिकताका लागि नभई साँच्चै व्यवसायी उत्पादन गर्न सहयोग पुग्ने यस किसिमका मागमा आधारित तालिम पहिचान गरी संचालन गर्ने काम गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय र कार्यालयका कार्यालय प्रमुख राम प्रसाद ज्ञवालीको खुलेर प्रशंसा गरे ।
समापन समारोहमा सहभागीको तर्फबाट बोल्दै राजु छिनाल, कोपिला परियार, सुस्मिता परियार र महेन्द्र परियारले तालिम अत्यन्त प्रभावकारी भएको, प्रशिक्षकहरुबाट यथेष्ट सहयोग र सीप प्राप्त भएकाले व्यवसायिक सफलतामा तालिम कोशेढुंगा सावित भएकोले घरेलु तथा साना उद्योग कार्यालयबाट भविष्यमा पनि यस्तै महत्वपूर्ण तालिम तथा दौरा सुरुवाल र कोट उत्पादनको लागि प्रशिक्षक प्रशिक्षण तालिम संचालन होस् भन्ने अपेक्षा समेत व्यक्त गरे । तालिम साँच्चै तालिम हुन सफल भएकोमा प्रशन्न मुद्रामा रहेका सबै प्रशिक्षार्थीले खुसी व्यक्त गरे ।
प्रमुख अतिथिको रुपमा रहेका सिद्धार्थ पोलिटेक्निकल कलेजका निर्देशक अर्विन आचार्यले यो तालिम सहि समयमा, सहि ठाउँमा, सहि प्रशिक्षार्थी र प्रशिक्षक छनौट गरी भएकोले सफल हुन सकेको बताए । उक्त समारोहमा तालिमका सहभागिलाई प्रमाणपत्र र उच्च गुणस्तरको सिलाई मेसिन समेत हस्तान्तरण गरिएको थियो । समापन समारोहका अध्यक्ष तथा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख उपसचिव राम प्रसाद ज्ञवालीले तालिमले प्रशिक्षार्थीहरुको व्यवसायिक सफलतामा सहयोग पुर्याउन सकेमा मात्र तालिम सफल भएको आफूलाई महसुस हुने बताए । उपसचिव ज्ञवालीले हाल प्रदेश सरकार बार्षिक बजेट तर्जुमाको काममा रहेको बताउदै कुनै पनि योजना तथा कार्यक्रम मागमा आधारित, देशको अर्थतन्त्रलाई सुदृढ गर्न सक्ने र बेरोजगारी तथा गरिबी उन्मुलनमा सहयोगी हुने गरी छनौट गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने बताए। ज्ञवालीले घरेलु तथा साना उद्योग कार्यालयलाई स्रोत साधन र जनशक्तिले सम्पन्न तुल्याउन सकेमा घर घरमा व्यवसाय र उद्यमको विकास भई गरिवी र बेरोजगारीको अन्त हुने साथै आयातालाई निर्यात व्यापार विस्तारद्वारा व्यवस्थापन गर्न सकिने बताए । उक्त समारोहमा उपस्थित सबै प्रशिक्षार्थीले आफैले सिलाएको दौरा सुरुवाल र कोट लगाएका थिए ।नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान गर्दै संचालन भएको उक्त समापन कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयका कार्यक्रम सहजकर्ता अनन्त पन्थीले गरेका थिए ।