बुटवलको मेयरमा एमालेबाट उम्मेदवार बनेका बाबुराम भट्टराई को हुन् ?

मेचीकाली संवाददाता

११ बैशाख २०७९, आईतवार
555 shares

बुटवल । आसन्न स्थानिय तह निवार्चनका लागि नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईलाई अघि सारेको छ । शनिबार साँझ बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका पूर्व केन्द्रीय स्वास्थ्य विभाग सदस्यसमेत रहेका भट्टराईलाई मेयरमा उठाउने निर्णय गरेको हो । अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए ।

पार्टीका नेताहरु भूमिगतकालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए । लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमेरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए ।

पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् । भट्टराईले तत्कालीन लुम्बिनी अञ्चल अस्पताल ९हालको लुम्बिनी प्रादेशिक अस्पताल० को समेत अध्यक्ष बनेर कुशल नेतृत्व स्थापित गरेका थिए ।

त्यसैगरी नेकपा एमालेले बुटवल उपमहानगरको उपमेयरमा पार्टी केन्द्रीय सदस्य सावित्रा अर्याललाई उठाउने निर्णय गरेको छ । २०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन् ।