स्थानीय निर्वाचन २०७९ : उत्साहजनकरूपमा मनोनयन दर्ता

मेचीकाली संवाददाता

१२ बैशाख २०७९, सोमबार
599 shares

बुटवल । यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले र सत्तारुढ गठबन्धनले छुट्टाछुट्टै समय निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ताको लागि आइतबार र सोमबार गरी दुई दिनको समय राखेको थियो । आइतबार साना दलहरुले उम्मदेवारी दर्ता गरे पनि प्रमुख दलहरूले सोमबार मात्र उम्मेदवारी दर्ता गरेका थिए । उनीहरू बाजागाजा र शक्ति प्रदर्शनसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थिए ।

देशकै प्रमुख चासोको केन्द्र रहेको बुटवलमा एमालेबाट प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने क्रममा उम्मेदवारको साथ एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमालेका केन्द्रीय सदस्य शिवराज सुवेदी, संविधासभा सदस्य तथा नेकपा एमालेका अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थी, एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतका नेताहरू हजाारौं समर्थक कार्यकर्तासहित निर्वाचन कार्यालय परिसरमा पुगेका थिए । बुटवलमा प्रमुख, उपप्रमुख सहित १९ वटा वडामा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता भएका छन् ।

त्यस्तै सत्तारुढ गठबन्धनतर्फबाट कांग्रेसका खेलराज पाण्डेले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेका साथ कांग्रेस प्रदेश सभापति अम्मरसिंह पुनलगायत नेताहरू पुगेका थिए । उपप्रमुखमा चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसक्रममा गठबन्धनबाट अलग अलग पुगेर मनोनयन दर्ता गराइएको थियो । त्यसअघि राप्रपाका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
मनोनय दर्तापछि एमालेका उम्मेदवार बाबुराम भट्टराईले समृद्ध बुटवल सुखी बुटवलबासीको सपना साकार पार्ने बताए । उनले बुटवलका विकास आफ्नो ध्यान केन्द्रित हुने बताए । भट्टराईले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका माध्यमबाट बुटवलको विकास गर्ने योजना रहेको बताए ।
त्यस्तै कांग्रेसका पाण्डेले बुटवलको सुकुम्बासी समस्या र दीर्घकालीन समाधानको प्रयास गर्ने दावी गरे । पाण्डेले बुटवलको सुकुम्बासी, खानेपानी र अस्तव्यस्त सडकको समस्या दिगो रुपमा समाधान गर्दै बुटवललाई प्रदेशको आर्थिक राजधानी बनाउने योजना सुनाए ।
बुटवल निर्वाचन सबैको चासोको केन्द्रमा छ । बुटवलमा राप्रपाबाट मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेले पनि उम्मेदवारी दिएका छन् । बुटवलमा सत्ता गठबन्धन तोडिएको छ । आफूहरुको अस्वितत्व स्वीकार नगरेको भन्दै जनता समाजवादी पार्टी जसपाले आइतबार मेयर उपमेयर दुवैमा उम्मेदवारी दिएको छ ।

यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेकाबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेश कमिटी सदस्य र पत्रकारसमेत रहेका उनले तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए ।

तिलोत्तमामा नेपाली कांग्रेसबाट मेयरमा रामकृष्ण खाँण उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तापछि बोल्दै मेयरका उम्मेदवार खाँणले पूरा हुन नसक्ने सस्तो लोकप्रिय नभई नगरवासीको आवश्यकताअनुसारका योजना बनाएर काम गर्ने बताए । तिलेत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकाले उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

सैनामैनामा प्रमुखका लागि चित्रबहादुर कार्की र उपप्रमुखका लागि बिना रानाले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताहरुको समर्थनको ¥यालीसहित एमालेका नेताहरु उम्मेदवारी दर्ताका लागि कार्यालयमा पुगेका थिए । त्यसक्रममा नेताहरुले समृद्ध सैनामैनाको जग बसालेको भन्दै कार्की र रानाको नेतृत्वमा चलिरहेका योजना साकार पार्न सकिने बताएका थिए । सैनामैनामा एमालेले ११ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

सैनामैनामा लामो प्रयासपछि कांग्रेस, माओवादीले गठबन्धन गरेका छन् । गठबन्धनमा यसअघि मेयरमा पराजित कांग्रेस नेता फणिन्द्र शर्मा र माओवादीका नेता मानबहादुर महतले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुखमा कांग्रेसबाट शर्माले र उपप्रमुखमा माओवादीबाट महतले उम्मेदवारी दर्ता गराएका छन् । बुटवल र सौनमैनामा गठबन्धनले महिलालाई मुख्य र आरक्षित पदमै उम्मेदवार बनाएनन् । बुटवल र सैनामैनामा गठबन्धनले मेयरमा पुरुष र उपमेयरमा पनि पुरुषले नै उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दुई पदमा एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक प्रावधान छल्न गठबन्धनले अलगअलग दलबाट एउटाएउटा पदमा मात्रै उम्मेदवारी दिएर महिला सहभागितालाई निरुत्साहित गरेको गुनासो बढेको छ ।

बुटवलमा उम्मेदवारी दर्ताका लागि एमालेको टोली बाजागाजा र ¥यालीसहित निर्वाचन कार्यालय पुगेको थियो । त्यसअघि, नेकपा एमालेका उपमहासिचव विष्णु पौडेल, लिला गिरी, शिव सुवेदीलगायतले उम्मेदवारलाई शुभकामना दिएका थिए ।
सैनामैनामा नेपाली कांग्रेसका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका फणिन्द्रप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

आफ्ना कार्यकर्ताका साथमा नगरको निर्वाचन कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । शर्मा नेपाली कांग्रेस पूर्वजिल्ला उपसभापति हुन् । गठबन्धनका तर्फबाट उपप्रमुखमा पनि पुरुष नै नेकपा माओवादी केन्द्रका नारायण महतले उम्मेदवारी दिएका छन् ।
त्यस्तै देवदह नगरपालिकामा एमालेबाट नगरप्रमुखमा धुव्रप्रसाद खरेलले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा विद्यालक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । त्यस्तै कांग्रेसबाट नगरप्रमुखमा हिराबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् । उनी बहालबाला नगर प्रमुख हुन् । उपप्रमुखमा सरिता चौधरीले उम्मेदवारी दर्ता गराएकी छिन् । देवदहमा नेकपा माओवादी केन्द्र अन्ततः एकल रुपमै निर्वाचनमा होमिएको छ । पार्टीका नगर कमिटी अध्यक्ष गोविन्द ठडराइले प्रमुख तथा सुन्दरी गिरीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट माधवप्रसाद रिमालले प्रमुख र उपप्रमुख पदमा निर्मला जिसीको उम्मेदवारी परेको छ । नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखको उम्मेदवारमा छबी भट्टराई र उपप्रमुखमा सरस्वती पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अन्तिम समयमा आएर गठबन्धन भाँडिएसँगै सत्तारुढ दलहरुले आआफ्नै तरिकाले मनोनयन दर्ता गराएका छन् । यहाँ एमालेले भने सानदार तरिकाले उम्मेदवारी दर्ता गराएको छ ।
गठबन्धन गरेका तर विवाद भएपछि नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, समाजवादी पार्टीलगायतले आआफ्नै तरिकाले उम्मेदवारी दर्ता गराएका छन् । समाजवादी पार्टीले उम्मेदवार नपाएपछि मेयरमा मात्र उमेदवारी दर्ता गराएको छ ।
एमालेबाट प्रमुखमा डा.रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

डा.बस्याल एमाले सिद्धार्थनगरका पूर्वसहसचिव र पाका तथा सादगी नेता हुन् । अधिकारी महिला अगुवा, सफल नेता र एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सहइञ्चार्ज हुन् । एमालेले १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा सागर प्रताप राणा र उपप्रमुखमा विनिता गुप्ताले उम्मेदवारी दिएका छन् । राणा सिद्धार्थनगरको पूर्वमेयर हुन् । उनी पार्टीका रुपन्देही जिल्ला अध्यक्षसमेत हुन् । गुप्ता पार्टी सिद्धार्थनगर कमिटी सदस्य हुन् । राप्रपाले १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट मेयरमा मनिसकुमार जोसी र उपमेयरमा कमला थापाले मनोनयन दर्ता गराएका छन् । जनमोर्चाबाट मेयरमा हिरालाल धामी र उपमेयरमा दुर्गादेवी शर्मा आर्चायले मनोनयन गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट महोमदवसिर मुसरमान मेयर र उपमेयरमा डोल्मा श्रेष्ठ गुरुङ, नेकपा समाजवादी पार्टीबाट मेयरमा कुलेन्द्र पुनले मात्र मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट मात्रिका यादव मेयरमा र उपमेयरमा आस्मा खातुनले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी जनमुक्ति पार्टीमा मेयरमा टिपु सुल्तान र उपमेयरमा माया सारु मगरले मनोनयन दर्ता गराएका छन् ।