बाणगंगामा युवाहरुलाई ड्राइभिङ तालिम

मेचीकाली संवाददाता

१४ बैशाख २०७९, बुधबार
510 shares

कपिलवस्तु । ‘सीप सिकौँ रोजगार गरौँ, सीप सिकौँ आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ दलित युवायुवतीका लागि बाणगङ्गा नगरस्तरीय ३५ दिने कार ड्राइभिङ्ग तालिम मंगलबार सम्पन्न भएको छ ।

बाणगङ्गा नगरस्तरीय दलित उपभोक्ता समिति कपिलवस्तुको आयोजना र बाणगङ्गा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा ३१ जना सहभागी भएका थिए । समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट सिकेको सिपलाई ब्यवहारमा लागूगर्ने प्रतिबद्धता जनाए । साथै यस्ता सिपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कायैक्रमका प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका निमत्त प्रशासकीय अधिकृत खिमबहादुर जिसीले तालिमका सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सिकेको सिपलाई कार्यान्वयन गर्दै सीप विकासका लागि आत्मबल बढाउनुपर्ने बताए । सो अवसरमा बाणगङ्गा दलित सेवा समाज कपिलवस्तुकी उपाध्यक्ष हरिकला नेपालीले संस्थालाई दुईथान पङ्खा हस्तान्तरण गरेकी छिन् ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवीलगायतको सहभागिता रहेको कार्यक्रम मालिका ड्राइभिङ सेन्टरका सञ्चालक महेन्द्र भुसालको विशिष्ट आतिथ्यता, टीकाराम सुनारको अध्यक्षता तथा रघुनाथ विकको स्वागत र किरण नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।