विकासको मोडल र खाका एमालेसँगै छ : उपाध्यक्ष पौडेल

मेचीकाली संवाददाता

१४ बैशाख २०७९, बुधबार
650 shares

बुटवल । आसन्न स्थानीय तहको चुनावमा खटिएका नेता कार्यकर्ताहरुलाई निर्देशन दिंदै एमालेका उपाध्यक्ष तथा मुलुकका सफल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश विकासको प्रष्ट खाका र योजनाका लिस्ट लिएर मतदाताको घरदैलोमा पुग्न आग्रह गरेका छन् ।

एमालेलाई सत्ताको नभई देशको चिन्ता भएको, कुर्सीको नभई मुलुकको हीतको चिन्ता भएको उल्लेख गर्दै नेता पौडेलले देश बनाउने कार्यक्रमलाई कार्यान्वयनका निम्ति जनताबाटै चुनिएर मात्रै एमालेले सरकारमा जाने प्रष्ट पारे । एमाले सैनामैना नगर कमिटीले बुधबार सैनामैनाको कलौनीमा आयोजना गरेको उम्मेदवार अभिमुखिकरण कार्यक्रममा बोल्दै नेता पौडेलले एमालेको नेतृत्वमा भएका कार्यहरुको सूची र नयाँ योजनाको फेहरिस्त लिएर जनतामा जान निर्देशन दिए ।

एमालेसँगै भएकाले ढुक्क भएर मतदाताको घरदैलोमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले शानदार जित हासिल गर्ने दाबी गरेका छन् । पालिका चुनावमा देशभरबाट एमालले कम्तिमा ६० प्रतिशत जित हासिल गर्ने दाबी गर्दै आएका नेता पौडेलले एमालेको नीति, कार्यक्रम, सरकारमा जाँदा एमालेले गर्ने कामको सबै सन्देश जनतामा पु¥याउनु आग्रह गर्दै नेता पौडेलले जनादेश एमालेकै पक्षमा आउने बताए । दुनियाँमा कहीँ नभएको चटक प्रतिपक्ष दलका विरुद्ध सत्तारुढ दलले गठबन्धन गरेको उल्लेख गर्दै नेता पौडेलले चुनाव हार्ने डरले सत्ता गठबन्धनले अहिले पनि अनेक तिगडम र षड्यन्त्र गरिरहेको आरोप लगाए ।

सैनामैनामा एमालेले प्रमुखमा चित्रबहादुर कार्की, उपप्रमुखमा बिना रानालाई उम्मेदवार बनाएको छ । सैनामैनाको समृद्धिको आधार तयार पार्ने, तिनै आधारहरुलाई कार्यान्वयन गर्ने कार्यक्रम समेत बनाउने सफल र जनप्रिय मेयरका रुपमा परिचित कार्कीले दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिएका छन् ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुसंगको अभिमूखिकरण कार्यक्रममा नेता पौडेलसहित पार्टीका पोलिटब्यूरो, केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका नेताहरुले शुभकामना दिएका थिए । सोही कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले नेपाली कांग्रेसले एमालेसँग एक्लै चुनाव लड्न नसकेको कारण प्रतिपक्षका विरुद्ध सत्तापक्षले गठबन्धन गरेको उल्लेख गरे । विकासको अभियान्ता पनि एमाले पार्टी नै रहेको दाबी गरे । नाकाबन्दी, भुकम्पपछिको पुननिर्माण र कोभिड महामारी रोकथामलगायतका विषयमा केपी शर्मा ओलीको नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेकोसमेत उनले उल्लेख गरे ।

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले विकासको प्रष्ट सोंच र लक्ष्य लिएको पार्टी नै एमाले भएकाले कुनै पनि गठबन्धन र मिलेमतोबाट प्रभावित नभई एमालेका पक्षमा रहेको जनमतलाई मतदानमा परिणत गराउन आग्रह गरे ।
पार्टी जटिल परिस्थितिबाट गुज्रेर आएको स्मरण गराउँदै गठबन्धनलाई परास्त गर्नका निम्त्ति एमाले एकजुट हुन जरुरी रहेको नेता ढकालको भनाइ थियो । मुलुकलाई समाजवादको बाटोमा हिडाउन एमालेलाई चुनाव जित्न आवश्यक रहेको बताउँदै ढकालले एमालेले तीनै तहमा सरकारको नेतृत्व गर्दा अगाडि सारेका कार्यक्रमको सूचि बनाएर जनतामा जान आग्रह गरे ।

सैनामैनाका समृद्धिका आधार तयार छन् : कार्की
सैनामैनाका मेयरका उम्मेदवार चित्रबहादुर कार्कीले पहिलो कार्यकालमा सैनामैनाको समृद्धिको आधार तयार भएको उललेख गर्दै समृद्धिका आधारलाई कार्यान्वयन गर्ने कार्यक्रमसमेत अगाडि सारेको प्रष्ट पारे । उनले यसअवधिमा गरेका कामको प्रगति समीक्षा तथा उपलव्धिका प्रतिवेदनहरु सार्वजनिक भइसकेको बताउँदै योजना कार्यान्वयनको पूर्णताले सैनामैना अब्बल बन्ने दाबी गरे । सैनामैनालाई गर्व गर्न लायक पालिका बनाएको दाबी गर्दै उनले नगरमा भए गरेका कार्य गतिविधी, वहुवर्षीय एवम् अन्य योजनाहरु अहिले प्रभावकारी रुपमा अगाडि बढेको बताए । आगामी पाँच वर्षमा सैनामैनालाई नमुना पालिका बनाउने कार्कीको प्रतिबद्धता छ ।

वर्तमान उपप्रमुख एवम् उपमेयरका उम्मेदवार बिना रानाले पाँच वर्षको अनुभवले काममा सहजता आउँने बताउँदै आगामी दिनमा पनि थप र नयाँ योजना सहित उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले न्यायीक अभ्यास, अनुगमनको प्रभावकारिता र योजना छनौटमा महिलाको सुनिश्चित सहभागिता जस्ता महत्वपूर्ण विषयमा सैनामैनाले अनुकरणीय काम गरेको दाबी गरिन् ।

एमालेका नगर कमिटी अध्यक्ष चेतनारायण न्यौपानेले प्रष्ट योजना, भिजन, सोंच, लक्ष्य र प्रतिवद्धतासहित एमालेले ११ वटै वडामा उम्मेदवार प्रस्तुत गरेको र जित्ने आधार समेत सुनिश्चित गरिएको दाबी गरे । उनले सबै शाखा कमिटी र टोल कमिटीमा एमालेले गरेका कामको सूची लिएर जनताको घरदैलोमा पुग्न आग्रह गरे । कार्यक्रमको सञ्चालन नगर कमिटिका सचिव बुद्धि चौधरीले गरेका थिए ।