गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज सफल अवतरण

मेचीकाली संवाददाता

१५ बैशाख २०७९, बिहीबार
951 shares

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज सफल अवतरण गरेको छ ।
काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बेलुका ५ः१२ मा उडान भरेको नेपाल एअरलाइन्सको वाइडबडी ए–३३० जहाज ५ः५५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिए ।
विमानमा चालकदलका सदस्यसहित २६० यात्रु सवार थिए । यसमा पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायत रहेका थिए । दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको हो ।

गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि पानीको फोहराले जहाजलाई स्वागत गरिएको थियो । तत्पश्चात् आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकका लागि ठूलो उपलब्धि भएको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएकोबताए । उनले भने, ‘नेपालको भूमिमध्ये काठमाडौँबाहेक अन्य भूमिमा पहिलोपटक वाइडबडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको ७४ वर्षे इतिहासमा यो कोसेढुङ्गा भएको छ । अहिलेसम्म ठूला जहाज काठमाडौँमा मात्र उडान अवतरण गरिरहेका थिए ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । यसअघि नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । ६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नति भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन आएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ । तर, अन्तर्राष्ट्रियतर्फ भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ । सरकारले गौतमबुद्ध विमानस्थलबाट उडान भर्न हवाई कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानको लागि पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले तयारी गरेको छ । जजिरा एयरलाइन्सले हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ ।

चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा विमानस्थलको भौतिक संरचना निर्माण गरेको थियो भने थाइल्याण्डको एरो थाई कम्पनीले ५० करोड लागतमा मौसम, संचार र विमानको दिशा पत्ता लगाउनेलगायतका उपकरण जडान गरि गत फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो ।अहिलेसम्म ठूला जहाज काठमाडौँमा मात्र उडान अवतरण गरिरहेका थिए । गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थलमा तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ ।
२०७१ सालमा शिलान्यास भएको विमानस्थल साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो । तर, भूकम्प, नाकाबन्दी, मधेश आन्दोलन र कोरोना महामारीलगायत विभिन्न कारणले विमानस्थल निर्माणमा केही ढिलाइ भएको हो । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । जसअनुसार अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुनेछ ।