कसम खाएर घरदैलो अभियान सुरु

मेचीकाली संवाददाता

१९ बैशाख २०७९, सोमबार
416 shares

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवारलाई कसम खुवाएर घरदैलो अभियानमा सुरु गरेको छ । आइतबार जिल्लाको वाणगंगा– ७ कपिलधाममा नगरप्रमुख, उपप्रमुखसहित सम्पूर्ण वडाका वडा अध्यक्ष, सदस्यका उम्मेदवारलाई कमस खुवाउँदै घरदैलो अभियानमा पठाएको हो ।

राप्रपा कपिलवस्तुले आफ्ना उम्मेदवारलाई नगरको कुनैपनि पदमा निर्वाचित भएमा पक्षपातरहित तवरले आफ्नो पदीय जिम्मेवारी इमान्दातापूर्वक पालना गर्ने, भ्रष्टाचार नगर्ने, नगराउने र कमिसन नखाने कसम खुवाएको छ । कपिलधाममा रहेको शिवमन्दिर अगाडी राप्रपाका उम्मेदवारलाई राप्रपा केन्द्रिय सदस्य धुब्र रायमाझीले कसम खुवाई स्वस्ती वाचनसमेत गरिएको बताइएको छ । कार्यक्रममा राप्रपा वाणगंगा नगरप्रमुखका उम्मेदवार, उपप्रमुख सम्पूर्ण वडाअध्यक्ष, सदस्यका उम्मेदवारलगायतको सहभागिता रहेको थियो ।

यसैबीच सोमबार वाणगंगाको वडा नम्बर ९ भलवाडमा घरदैलो कार्यक्रम गरेको छ । नगरप्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारसहित घरदैलो अभियान गरिएकोे राप्रपा वाणगंगाले जनाएको छ । घरदैलो कार्यक्रममा उम्मेदवार आफ्ना घोषणापत्रसहित जनताको घर आँगनमा पुगेका छन् । जनताबाट राम्रो प्रतिक्रिया पाएको भन्दै आफ्नो जित सुनिश्चत रहेको केन्द्रिय सदस्य धुब्र रायमाझीले जानकारी दिए । राप्रपाको राष्ट्रवादी एजेन्डाका कारण पछिल्लो समय राप्रपामा जनलहर बढेको उनको दाबी छ ।

यस्तै बाणगंगा–८ बोडगाउँमा पनि राप्रपाको घरदैलो कार्यक्रम जारी छ । राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझीको नेतृत्वमा घरदैलो कार्यक्रमलाई तीब्रता दिइएको राप्रपा बाणगंगाले जनाएको छ ।
राप्रपाबाट मेयरकी उम्मेदवार सीताकुमारी थारु, उपमेयरका उम्मेदवार डिल्ली शर्मा, वडा नं. ८ मा वडाध्यक्षका उम्मेदवार भगे्रन्द्रबहादुर उचै ठकुरीसहित नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा राप्रपाप्रति आम नागरिकको छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले बताए ।

देशका प्रमुख राजनितिक पार्टीहरुलाई पटकपटक जिताएर पठाएको तर त्यसले देशलाई सही दिशा प्रदान गर्न नसकेको भन्दै मतदाताहरुले आफूसमक्ष गुनासो गरेको केन्द्रिय सदस्य रायमाझीले बताए । राप्रपाको घरदैलो कार्यक्रमअन्तर्गत मंगलबार वडा नं.९ र ६, वैशाख २० गते वडा नं.१, वैशाख २१ गते वडा नं.११ र २, वैशाख २२ गते वडा नं. ५ र ४, वैशाख २३ गते वडा नं.१० र वैशाख २४ गते वडा नं. ३, वैशाख २५ वडा नं.५ र ६ मा अभियान संचालन गरिने छ । राप्रपाले बाणगंगाका ११ वटै वडामा उम्मेदवार खडा गरेको राप्रपा बाणगंगाले जनाएको छ ।