तिलोत्तमाका भूमिहिन भन्छन्ः ‘लालपूर्जाको लागि एमाले सरकारको पखाईमा छौँ’

मेचीकाली संवाददाता

२२ बैशाख २०७९, बिहीबार
558 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासीहरुले आगामी निर्वाचनमा आफुहरुको समर्थन एमालेका उम्मेदवारलाई रहने बताएका छन्। एमालेले मात्रै आफुहरुलाई जग्गाको धनी बनाउन सक्ने भएकोले एमालेलाई जिताउन लाग्ने उनिहरुले बताए।

नेकपा एमाले तिलोत्तमाले नगरपालिकाको वडा नं ३ मा विहिबार गरेको घरदैलोको क्रममा भूमिहिन सुकुम्बासीहरुले आफुहरुले मत दिएर जिताएपछि लालपूर्जा दिलाउन आग्रह गरेका थिए। यसअघिको सरकारले लालपूर्जा दिलाउने भन्दै फारम भरेपनि सरकार परिवर्तन भएपछि उक्त काम अलपत्र परेको भन्दै उनिहरुले यसपटक भने पहिलो काम नै लालपूर्जा वितरणको हुनुपर्ने बताएका थिए।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिला गिरि, एमाले नेता एवं तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगायतका सयौं नेता कार्यकर्ताहरु सहित नगरप्रमुखका उम्मेदवार मोहन चापागाई र उपप्रमुखका उम्मेदवार जागेश्वरी चौधरी घरदैलोमा पुगेका थिए। वडा नं ३ को योगिकुटी, शान्तिचोक, सिमानगर लगायतका स्थानमा गरिएको घरदैलोको क्रममा सिमानगरमा कोणसभा समेत गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य लिला गिरिले तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिले जनअपेक्षा अनुरुप काम गरेको भन्दै केहि अधुरा कामहरु मोहन चापागाईको नेतृत्वमा आउने नेतृत्वले पुरा गर्ने बताए ।

उनले भूमिहिन सुकुम्बासीहरुको समस्या समाधानका लागि धेरै काम पुरा गरिसकेपछि एमाले नेतृत्वको सरकार गिराएर बनेको गठबन्धन सरकारले लालपूर्जा दिने कामलाई बीचमै अलपत्र पारेको बताए । नेता गिरीले भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा दिलाउने र तिनाउ नदिलाई व्यवस्थीत गर्ने काम एमालेको नेतृत्वबाटै सम्भव हुने बताए । नगरप्रमुख घिमिरेले आफ्नो नेतृत्वमा तिलोत्तमालाई देशकै उत्कृष्ट नगरपालिका बनाएको भन्दै नगरपालिकाले आर्जन गरेको अहिलेको साखलाई बचाउन एमालेकै नेतृत्व आउनुपर्ने बताए ।

वडा अध्यक्ष पदका उम्मेदवार घनश्याम पौडेल (रामु)ले तिलोत्तमा ३ को समग्र विकासका लागि आफुलाई मत दिन आग्रह गरे । तिलोत्तमा ३ बाट अध्यक्षमा पौडेल सहित सदस्यमा शारदा भण्डारी, युवराज पराजुली, लक्ष्मी घिले र रुक प्रसाद अधिकारी उम्मेदवार छन् ।